विराटनगरबाट १० लाख बढीको कपडा र किराना सामान बरामद

मंगलबार, २८ असोज २०८२

विराटनगर : भारतको जोगवनीदेखि भन्सार छली गरेर ल्याएको १० लाख मूल्य बढीका कपडा र किराना सामान प्रहरीले विराटनगरबाट मंगलबार बरामद गरेको छ । 

बेवारिसे अवस्थामा लत्ताकपडा र किराना सामान फेला पारेर बरामद गरिएको मोरङ प्रहरी प्रवक्ता डीएसपी कोपिला चुँडालले बताइन् । विराटनगर महानगरपालिका–७ बाट १० लाख ११ हजार ९ सय ४० रूपैयाँ बराबरको सामान बरामद भएको उनको भनाइ छ । कपडा ९ लाख ५७ हजार ६ सय रूपैयाँ र किराना सामान ५४ हजार ३ सय ४० रूपैयाँ बराबरको रहेको जानकारी उनले दिइन् । 

कपडा र सामान कसको हो भनेर यकिन हुन सकेको छैन । भारतबाट तस्करी गरेर ल्याउँदै गर्दा प्रहरीलाई देखेपछि सामान छाडेर तस्करीमा संलग्नहरु फरार भएको हुनसक्ने प्रहरीको अनुमान छ । बरामद गरिएको कपडा र किराना सामान आवश्यक कारबाहीका लागि प्रहरीले विराटनगर भन्सार कार्यालयमा बुझाएको छ । 

मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालले चाडपर्वका बेलामा तस्करी बढ्न सक्ने सम्भावना रहेको बताउँदै नेपाल–भारत सीमा क्षेत्रमा कडाइ गरिएको जानकारी दिए । सशस्त्र प्रहरी, भन्सारलगायतका नियकासँग समन्वय गरेर सीमा क्षेत्रमा उच्च सतर्कता अपनाइएको उनले बताए । तिहार नजिकिएसँगै तस्करी बढ्न सक्ने सम्भावनालाई मध्यनजर गरेर सीमा क्षेत्रमा उच्च सतर्कता अपनाइएको कटवालको भनाइ छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार