नेकपा स्थापनादेखि एमालेको ११औँ महाधिवेशनसम्मको यात्रा

शनिबार, २७ मंसिर २०८२

काठमाडौँ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थापना भएको ७६ वर्ष पूरा हुँदा कम्युनिष्ट आन्दोलनको प्रमुख धारका रूपमा रहेको नेकपा (एमाले) विभिन्न उतार–चढाव पार गर्दै ११औँ राष्ट्रिय महाधिवेशनसम्म आइपुगेको छ।

नेपाल कम्युनिष्ट पार्टीको स्थापना विसं २००६ वैशाख १० गते पुष्पलाल श्रेष्ठको नेतृत्वमा भएको हो। निरञ्जनगोविन्द वैद्य, नरबहादुर कर्माचार्य, नारायणविलास जोशी र मोतीदेवी श्रेष्ठ संस्थापक रहेर भारतको कोलकातास्थित श्यामबजार क्षेत्रबाट नेपाली कम्युनिष्ट आन्दोलनको औपचारिक सुरुआत गरिएको थियो। विश्व कम्युनिष्ट घोषणापत्र जारी भएको १०२ वर्षपछि र सोभियत सङ्घमा अक्टोबर क्रान्ति सम्पन्न भएको ३२ वर्षपछि नेपालमा कम्युनिष्ट आन्दोलनको जग बसालिएको थियो। त्यतिबेला नेपाल राणा शासनको निरङ्कुशताबाट मुक्त हुने सङ्घर्षमा थियो।

नेकपाको पहिलो महाधिवेशन विसं २०१० माघ १० देखि २० गतेसम्म ललितपुरको पाटनमा सम्पन्न भएको थियो, जसले मनमोहन अधिकारीलाई महामन्त्री चयन गर्‍यो। दोस्रो महाधिवेशन २०१४ जेठ १५ देखि २५ गतेसम्म काठमाडौँको दरबारमार्गमा सम्पन्न भई महासचिवमा डा. केशरजङ्ग रायमाझी चयन भए। यसपछि पार्टीभित्र प्रजातन्त्र र राजतन्त्रबारे गहिरो वैचारिक विवाद सुरु भयो।

तेस्रो महाधिवेशन २०१९ वैशाखमा सम्पन्न भई महासचिवमा तुल्सीलाल अमात्य चयन भए। २०४६ सालमा सिरहाको विष्णुपुरकट्टीमा सम्पन्न चौथो महाधिवेशनले मदनकुमार भण्डारीलाई महासचिव बनायो। यही महाधिवेशनपछि कम्युनिष्ट आन्दोलन विभिन्न धार र उपधारमा विभाजित भयो र एमालेले ‘जडसूत्रवाद र विसर्जनवादको विरोध गरौँ’ भन्ने नारासहित आफूलाई अलग राजनीतिक धारका रूपमा स्थापित गर्‍यो।

एमालेको पाँचौँ महाधिवेशन २०४९ माघमा काठमाडौँको दशरथ रङ्गशालामा सम्पन्न भयो। यस महाधिवेशनबाट मनमोहन अधिकारी अध्यक्ष र मदनकुमार भण्डारी महासचिव बने। भण्डारीद्वारा प्रस्तुत ‘जनताको बहुदलीय जनवाद (जबज)’ पारित भएपछि यो महाधिवेशन एमालेको वैचारिक इतिहासमा निर्णायक मानिन्छ।

छैठौँ महाधिवेशन २०५४ माघमा नेपालगन्जमा सम्पन्न भई अध्यक्षमा मनमोहन अधिकारी र महासचिवमा माधवकुमार नेपाल चयन भए। सातौँ महाधिवेशन २०५९ माघमा जनकपुरमा सम्पन्न भयो भने आठौँ महाधिवेशन २०६५ फागुनमा बुटवलमा भई अध्यक्षमा झलनाथ खनाल र महासचिवमा ईश्वर पोखरेल निर्वाचित भए।

नवौँ महाधिवेशन २०७१ असारदेखि साउनसम्म काठमाडौँको भृकुटीमण्डपमा सम्पन्न भई केपी शर्मा ओली अध्यक्ष र ईश्वर पोखरेल महासचिव बने। पछिल्ला वर्षहरूमा एमालेले नीति र नेतृत्व चयनका लागि छुट्टाछुट्टै महाधिवेशन गर्ने अभ्यास थालेको छ। २०७८ असोजमा गोदावरीमा पहिलो विधान महाधिवेशन सम्पन्न भयो भने सोही वर्ष मङ्सिरमा चितवनको सौराहामा सम्पन्न दसौँ महाधिवेशनले ओली अध्यक्ष र शङ्कर पोखरेल महासचिव चयन गर्‍यो।

२०८२ भदौमा सम्पन्न दोस्रो विधान महाधिवेशनले दुई कार्यकाल र ७० वर्षे उमेर हद हटाउने व्यवस्था गरेको थियो।

यसैक्रममा आजदेखि एमालेको ११औँ राष्ट्रिय महाधिवेशन सुरु भएको छ। भक्तपुरको सल्लाघारीमा उद्घाटन भएको महाधिवेशनको बन्दसत्र आइतबारदेखि काठमाडौँको भृकुटीमण्डपमा हुनेछ। महाधिवेशनको मूल नारा ‘निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो सङ्कल्प, समृद्ध नेपाल सुखी नेपाली राष्ट्रिय गन्तव्य’ रहेको छ।

प्रतिक्रिया

रासस
लेखकको बारेमा
रासस

नेपालको राष्ट्रिय समाचार समिति (रासस) नेपाल सरकारअन्तर्गतको आधिकारिक समाचार एजेन्सी हो । यसको स्थापना वि.सं. २०१८ सालमा (सन् १९६१) भएको हो । राससको मुख्य उद्देश्य राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचार संकलन, सम्पादन र वितरण गर्ने हो ।

सम्बन्धित समाचार