मोरङमा मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु, एकजना घाइते

आइतबार, २८ मंसिर २०८२

इटहरी । मोरङको  ग्रामथान गाउँपालिका–२ झोराहाटमा मोटरसाइकलको ठक्करबाट एक पैदल यात्रीको मृत्यु भएको छ भने एकजना घाइते भएका छन्।

 हिजो (शनिवार) साँझ अन्दाजी ७:३५ बजे विराटनगरबाट विराट चौक तर्फ आउँदै गरेको प्रदेश १–०२–०४५ प ३१४१ नम्बरको मोटरसाइकलले सोही दिशातर्फ हिँडिरहेका पैदल यात्रीलाई ठक्कर दिएको प्रहरीले जनाएको छ। 

दुर्घटनामा नामथर वतन नखुलेका अन्दाजी ५० वर्षका, पहाडी मुलुक जस्तो देखिने पुरुषको टाउकोमा चोट लागेको थियो र अवस्था मध्यम रहेको थियो।

घाइतेलाई उपचारका लागि विराटनगरस्थित विराट नर्सिङ होम अस्पताल पठाइएको थियो। अस्पतालमा चिकित्सकले जाँच गर्दा पैदल यात्रीलाई साँझ ८ः०७ बजे मृत घोषणा गरेको प्रहरीले जनाएको छ।  

साथै मोटरसाइकलको पछाडि सवार जोसिन तिगाको छोरी अन्दाजी १७ वर्षीया जिया तिगालाई भित्री चोट लागेको र अवस्था मध्यम रहेको जनाइएको छ।

घटनापछि प्रहरी चौकी झोराहाटबाट प्रहरी टोली खटिएर मोटरसाइकल र चालक सोही ठाउँ बस्ने अन्दाजी १८ वर्षीय इसान पौडेललाई नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ। 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार