काठमाडौं : मुलुकका प्रतिष्ठित कलाकारहरूले प्रधानमन्त्री सुशीला कार्कीलाई कुसूचना र प्रोपोगान्डाबाट नडराई भ्रष्टाचारविरुद्ध दृढतापूर्वक अघि बढ्न आग्रह गरेका छन् । बुधबार बालुवाटारमा प्रधानमन्त्री कार्कीलाई भेट्दै नेपाली सिनेमाका नौ जना चर्चित कलाकारहरूले सरकारलाई सशक्त र पारदर्शी ढंगले अघि बढ्न सुझाव दिएका हुन् ।
“हामी सरकारसँग केही माग्न आएका होइनौँ, देश नै रहेन भने माग्ने कुरा माग्दै गर्न सकिँदैन,” कलाकारहरूले प्रधानमन्त्री कार्कीलाई भेटमा भने, “पहिला देश बस्नलायक होस्, त्यसका लागि सरकारले दृढ भएर अघि बढोस्, हामी साथमा छौँ।”
प्रधानमन्त्रीको निष्कलंक छवि र पहिलो महिला प्रधानन्यायाधीशका रूपमा कायम इतिहासको प्रशंसा गर्दै कलाकारहरूले अहिलेको चुनौतीपूर्ण समयमा नेतृत्व लिएकोमा कृतज्ञता व्यक्त गरे । अभिनेतृ ऋचा शर्माले भनिन्, “अब के पो हुन्छ भनेर डराइरहेका बेला सम्हाल्न आमा आउनुभएको छ। उहाँको सरल र स्पष्ट शैलीका कारण हामीमा भरोसा जगिएको छ।”
सामाजिक सञ्जालमा फैलिरहेका गलत सूचनाबारे चिन्ता व्यक्त गर्दै कलाकारहरूले प्रधानमन्त्रीलाई प्रोपोगान्डाप्रति सचेत रहन र सरकारका कामहरू नियमित रूपमा सार्वजनिक गर्न सुझाव दिए । अभिनेता विपिन कार्कीले भने, “गृहमन्त्रीका केही दिनका अभिव्यक्तिले सरकार डराएको छैन भन्ने सन्देश पुगेको छ। अब अझै दरिलो सरकारको अनुभूति गर्न चाहन्छौँ।”
अभिनेता निश्चल बस्नेतले भने, “सरकारले नबोलेका कारण दूषित तत्वहरू सामाजिक सञ्जालमा हावी भएका छन्। सही धरातलमा हुनुहुन्छ भने डरिनु पर्दैन, ढुक्कसँग अघि बढ्नुहोस्। देशलाई अफ्ठ्यारोमा पर्न नदिन राष्ट्रिय एकताको खाँचो छ।”
संगीतकार कालीप्रसाद बाँस्कोटाले समाजलाई भड्काउने तत्वहरूबारे चेतावनी दिँदै भने, “समाज भड्काउन सजिलो छ, सम्हाल्न गाह्रो। अहिले भड्काउन खोज्नेहरू बढी देखिएका छन्, त्यस्ता तत्वहरूबाट सचेत रहनुपर्ने समय हो।”
कलाकारहरूले परिवर्तनको विरोधमा नियोजित रूपमा चलाइएका अभियानहरूलाई निस्तेज बनाउन जेनजी युवादेखि परिवर्तनपक्षधर सबै एक ठाउँमा उभिनुपर्ने आवश्यकता औँल्याए । अभिनेता विजय बरालले भने, “परिवर्तनका पक्षमा रहेका हामी जनता एकातिर छौँ, जनताबाट तिरष्कृत सानो शक्ति अर्कोतिर छ। त्यसले हामीलाई पेलिरहेको छ, यो कुरा सबैले बुझ्नुपर्छ।”
प्रधानमन्त्री कार्कीले कलाकारहरूको समर्थन र सुझावको स्वागत गर्दै भनिन्, “साथ सहयोग सबैको चाहिन्छ। तपाईँहरू समाजमा प्रभावशाली व्यक्तिहरू हुनुहुन्छ, दुष्प्रचार चिर्न भूमिका खेल्नुहोस्। असल नियतले काम गर्दा कसैले गाली गर्छ भने डराउँदिनौँ, हाम्रो लक्ष्य स्पष्ट छ।”
भेटघाटमा कलाकार तथा सर्जकहरू विजय बराल, सुजित बिडारी, निश्चल बस्नेत, विपिन कार्की, शान बस्न्यात, दिव्यदेव पन्त, कालीप्रसाद बाँस्कोटा, ऋचा शर्मा, र कर्मालगायत सहभागी थिए ।
प्रतिक्रिया