निर्वाचन प्राथमिकतामा राख्नुको अर्थ सुशासन र भ्रष्टाचारविरुद्धका मुद्दामा मौन बस्नु होइन : प्रधानमन्त्री

बुधबार, ०५ कार्तिक २०८२

काठमाडौँ । नेपाल संवत् ११४६ को स्वागत कार्यक्रमका अवसरमा आयोजित विशेष समारोहमा प्रधानमन्त्री सुशीला कार्कीले देशलाई सुशासन र स्थायित्वको दिशामा अघि बढाउने प्रतिबद्धता व्यक्त गरेकी छन् । वसन्तपुरस्थित ऐतिहासिक समारोहमा बोल्दै उनले आगामी प्रतिनिधिसभा निर्वाचन भयरहित र निष्पक्ष वातावरणमा सम्पन्न गर्ने तयारी सरकारद्वारा तीव्र रूपमा अगाडि बढाइएको जानकारी दिइन् ।

प्रधानमन्त्री कार्कीले भनिन्, ‘आन्दोलनको बलमा बनेको यस नागरिक सरकारले २०८२ फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन गर्ने जिम्मेवारी पाएको छ । त्यसको तयारीमा हामी दत्तचित्त भएर लागेका छौँ ।’
उनले विद्रोहपछिको राजनीतिक अवस्थालाई सामान्यीकरण गर्दै सबै पक्षसँग निरन्तर संवाद भइरहेको उल्लेख गर्दै परिवर्तनका वाहक जेनजी समुदायसँग पनि सम्पर्कमा रहेको बताइन् ।

‘निर्वाचन प्राथमिकतामा राख्नुको अर्थ सुशासन र भ्रष्टाचारविरुद्धका मुद्दामा मौन बस्नु होइन,’प्रधानमन्त्री कार्कीले स्पष्ट पारिन्, ‘संविधानको अधीनमा रही हामीले जेनजी आन्दोलनले उठाएका सुशासनसम्बन्धी आवाजलाई सम्बोधन गर्नुपर्छ भन्ने दायित्व बुझेका छौँ । त्यसअनुरूप राज्य संयन्त्रहरूबाट ठोस परिणाम दिने गरी काम अघि बढिरहेको छ ।’

समाजको सबै पक्षको सक्रिय सहभागिताबिना लोकतन्त्र सफल नहुने धारणा व्यक्त गर्दै उनले समाजमा सद्भाव, एकता र सचेत नागरिकताको विकासमार्फत लोकतन्त्रको रक्षा तथा भ्रष्टाचार नियन्त्रण गर्न सबैलाई आह्वान गरिन् ।

प्रधानमन्त्री कार्कीले सबै राजनीतिक दल, वर्ग र समुदायको साथ र सहयोगप्रति विश्वास व्यक्त गर्दै यो कार्यमा सबैको साझा भूमिका हुनेमा आशावादी रहेको बताइन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार