मोरङको ग्रामथानमा जुवा खेल्दै गरेका पाँच जना पक्राउ, नगद र कौडा बरामद

बुधबार, ०५ कार्तिक २०८२

विराटनगर । मोरङको ग्रामथान गाउँपालिका–३ सिद्राहा बाँसबारी चोकमा सञ्चालित जुवा खालमा प्रहरीले बुधबार राति छापा हानी पाँच जनालाई पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा पुगेको प्रहरी टोलीले जुवा खेलिरहेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

प्रहरीका अनुसार छापा हान्ने कार्य जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी निरीक्षक सरोज खनाल र इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक कृष्णबहादुर खत्रीको संयुक्त टोलीले सञ्चालन गरेको थियो । टोलीले राति करिब ११:४५ बजे सो स्थानमा छापा हानेको थियो ।

छापा मार्ने क्रममा केही व्यक्तिहरूले प्रहरीलाई अवरोध गर्ने प्रयाससमेत गरेका थिए । तर, टोलीले तत्काल नियन्त्रणमा लिएर पाँच जनालाई पक्राउ गर्न सफल भएको हो । पक्राउ पर्नेमा विराटनगर महानगरपालिका–३ का ६७ वर्षीय अरुण गुप्ता, विराटनगर–१ का ५८ वर्षीय विनोद कार्की, ६८ वर्षीय दिनेश कार्की, ४३ वर्षीय विवेक सिंह र पर्साको वीरगन्ज महानगरपालिका–१६ का ४५ वर्षीय प्रदीपकुमार जैसवाल रहेका छन् ।

प्रहरीले पक्राउ परेकाहरूको साथबाट १५ थान कौडा, ४८ हजार ५ सय ४० रुपैयाँ नगद र प्रयोग भएका मोबाइल फोनहरू बरामद गरेको जनाएको छ । साथै, उनीहरूले प्रयोग गरेको बा ०१–०२६ च ६८५३ नम्बरको कारलाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ ।

हाल पक्राउ परेकाहरूलाई आवश्यक कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय मोरङमा राखिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । मोरङका प्रहरी प्रमुख प्रहरी एसपी कवित कटवालका अनुसार चाडपर्वका समयमा जुवा तथा सट्टेबाजीजन्य गतिविधि बढ्ने भएकाले प्रहरीले निगरानी र छापामार कार्यलाई थप कडा बनाएको बताइएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार