काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिले भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनका क्रममा ज्यान गुमाएका मृतकहरूको स्मरणमा असोज १ गतेलाई शोक दिवसका रूपमा मनाउने निर्णय गरेको छ।
सो दिन पार्टी कार्यालयमा राष्ट्रिय तथा पार्टीको झण्डा आधा झुकाइनेछ।
पार्टी प्रवक्ता मनिष झाका अनुसार, भर्चुअल बैठकमार्फत असोज ३ गते पर्ने संविधान दिवसकै दिन श्रद्धाञ्जली कार्यक्रम सञ्चालन गर्ने निर्णय गरिएको छ। यो कार्यक्रम सबै जिल्ला, प्रदेश र केन्द्रीय कार्यालयमा एकैसाथ समन्वय गरी गरिनेछ।
बैठकले आन्दोलनका क्रममा क्षति पुगेका सार्वजनिक संरचनाहरूको सफाइ र पुनर्निर्माणमा सहयोग गर्ने र क्षतिको विवरण सङ्कलनका लागि सदस्यहरूलाई पार्टीको परिचयबिना स्वयंसेवकको रूपमा खटाउने निर्णय गरेको छ।
त्यस्तै, घाइतेहरूको उपचारमा सहयोग गर्न पार्टीको स्वास्थ्य विभागलाई सक्रिय गर्ने, स्वास्थ्य अभियान सञ्चालन गर्ने, शहीद परिवारसँग भेटघाट गर्ने र आवश्यक सहयोग पुर्याउने प्रतिबद्धता पनि गरिएको छ।
यस्तै, २ असोजदेखि पार्टीका सबै विभागलाई नियमित गतिविधि सञ्चालन गर्दै आफ्ना क्षेत्राधिकारभित्र समृद्धि र विकासका नीति, कार्यक्रम तथा सङ्कल्प तयार गर्ने निर्देशनसमेत बैठकले दिएको छ।
प्रतिक्रिया