डिजिटल बीमातर्फ गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको छलाङ

तेस्रो साधारणसभाबाट १ः१ हकप्रद शेयर प्रस्ताव पारित

सोमबार, १४ पुस २०८२

विराटनगर : गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको तेस्रो वार्षिक साधारणसभा मोरङको विराटनगरस्थित होटेल एयरपोर्टमा सम्पन्न भएको छ ।

सभाले हाल कायम ७५ करोड रुपैयाँ चुक्तापुँजीको १०० प्रतिशत अर्थात् १ः१ अनुपातमा हकप्रद शेयर जारी गर्ने विशेष प्रस्ताव सर्वसम्मत रूपमा पारित गरेको छ ।

यससँगै अधिकृत, जारी तथा चुक्तापुँजी वृद्धि गर्न नियामक निकायबाट निर्देशन प्राप्त भएमा वा आवश्यक देखिएमा सोहीअनुसार प्रक्रिया अघि बढाउने सम्पूर्ण अधिकार सञ्चालक समितिलाई प्रदान गर्ने अर्को विशेष प्रस्ताव पनि अनुमोदन गरिएको छ ।

साधारणसभाले कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव पारित गर्नुका साथै सर्वसाधारण शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने एक जना सञ्चालकको नियुक्ति (निर्वाचन) सम्बन्धी प्रस्ताव पनि स्वीकृत गरेको छ ।

सभामा आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गरिएको छ भने चालु आर्थिक वर्ष २०८२/८३ का लागि लेखापरीक्षकको नियुक्ति तथा पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव पनि पारित गरिएको छ ।

साधारणसभाको उद्घाटन कम्पनीका अध्यक्ष उदित श्रेष्ठले गरेका थिए । उद्घाटन समारोहमा प्रमुख कार्यकारी अधिकृत चिरायु भण्डारीले संस्थाको मूल नारा “जहाँ पनि, जहिले पनि, सुरक्षा सबैको अधिकार” लाई व्यवहारमा शतप्रतिशत लागू गर्दै अघि बढिरहेको बताए ।

WhatsApp Image 2025-12-29 at 18.00.55

उनले ३७ वटा जीवन तथा निर्जीवन बीमा कम्पनीहरूमध्ये पहिलो पटक वार्षिक साधारणसभा सम्पन्न गर्न सफल हुनुका साथै बीमा दाबी भुक्तानीमा कम्पनी उद्योगकै अग्रणी बनेको दाबी गरे ।

अध्यक्ष श्रेष्ठले वर्तमान आवश्यकता अनुसार बीमा व्यवसायलाई प्रविधिमैत्री बनाउँदै लैजानु अपरिहार्य रहेको उल्लेख गर्दै डिजिटल प्रविधिको अधिकतम प्रयोगमार्फत सेवाग्राहीको विश्वास अझ मजबुत बनाइने बताए ।

WhatsApp Image 2025-12-29 at 12.19.31

कार्यक्रममा बीमा प्राधिकरण कोशी प्रदेश प्रमुख प्रीति देवले गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले डिजिटल प्रणालीलाई आत्मसात् गर्दै बीमा उद्योगमा आफूलाई सबल र सक्षम संस्थाका रूपमा स्थापित गर्दै गएकोप्रति खुशी व्यक्त गरिन् ।

उनले बीमा व्यवसायमा देखिने साना–साना समस्या समयमै समाधान गर्दै अघि बढ्नु आजको प्रमुख आवश्यकता रहेको कुरामा पनि जोड दिइन् ।

WhatsApp Image 2025-12-29 at 12.19.00

साधारणसभामा शेयरधनीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो भने आगामी दिनमा ग्रामीण तथा विपन्न वर्गलाई लक्षित बीमा सेवाको दायरा थप विस्तार गर्ने प्रतिबद्धता कम्पनीले जनाएको छ ।

guardian micro life

 

प्रतिक्रिया

न्युज डेस्क
लेखकको बारेमा
न्युज डेस्क
संस्थापक

सम्बन्धित समाचार