काठमाडौँ : जेनजी आन्दोलनका क्रममा भएको हिंसात्मक घटनामा ज्यान गुमाएका प्रहरी जवान उत्तम थापाको परिवार आज सहाराविहीन बनेको छ । गत भदौ २४ गते बिहान धनगढीमा रहेकी श्रीमती पुष्पा थापालाई उत्तमले फोन गर्दै तीन दिनपछि घर फर्किने र बसको टिकट काटिसकेको बताएका थिए ।
अघिल्लो दिन काठमाडौँमा जेनजी आन्दोलनका क्रममा अप्रिय घटना भएकाले अवस्था के छ भनेर सोध्दा आफू महाराजगञ्जस्थित प्रहरी वृत्तमै रहेको र अवस्था सामान्य रहेको उत्तमले बताएको पुष्पाले सुनाइन् । “आज हिजोजस्तो तनाव छैन, तीन दिनपछि घर आउँछु, चिन्ता लिनुपर्दैन भन्नुभएको थियो,” पुष्पाले बताइन् ।
तर दिन ढल्दै जाँदा काठमाडौँको अवस्था तनावपूर्ण बन्यो । प्रदर्शनकारीहरूले संसद् भवनमा आगजनी गरेपछि सिंहदरबार र सर्वोच्च अदालतमा समेत आगजनी भएको प्रहरी स्रोतले जनाएको छ । सोही क्रममा प्रदर्शनकारीहरू महाराजगञ्जस्थित प्रहरी वृत्तभित्र प्रवेश गरी प्रहरीमाथि कुटपिट गर्न थाले । कुटपिटकै क्रममा प्रहरी जवान थापाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
थापामाथि भएको कुटपिटको भिडियो केही समयमै सामाजिक सञ्जालमार्फत श्रीमती पुष्पासम्म पुगेको थियो । तर आफूले त्यो भिडियो हेरे पनि श्रीमान् जीवितै हुनुहुन्छ भन्ने आशा कहिल्यै नमरेको पुष्पाले बताइन् ।
दार्चुला लेकम गाउँपालिका–३ निवासी थापा परिवारका जेठा छोरा थिए । उनका भाइ महेश थापाको केही महिनाअघि महाकाली नदी पार गर्ने क्रममा भिरबाट लडेर मृत्यु भएको थियो । छोराको मृत्युपछि कान्छी बुहारी घर छाडेर गएको परिवारजनले बताएका छन् ।
करिब एक दशकअघि श्रीमान् गुमाएकी आमा निर्मलादेवीले पछिल्लो एक वर्षमै दुवै छोरा गुमाउनुपरेको परिवारले जनाएको छ । बिरामी शरीर र सन्तान गुमाउनु पर्दाको पीडाले आफूलाई सम्हाल्न नसकिरहेको निर्मलादेवीका आफन्तले बताए । केही समयअघिसम्म पाँच जनाको परिवार अहिले सासू र बुहारीमा मात्रै सीमित भएको उनीहरूको भनाइ छ ।
घटनापछि आमा र श्रीमतीले उत्तम थापाको शवसमेत हेर्न नपाएको परिवारले जनाएको छ । थापाको पार्थिव शरीरलाई राष्ट्रिय सम्मानका साथ पशुपतिस्थित आर्यघाटमा अन्त्येष्टि गरिएको थियो । काका रुपसिंह थापाले महेन्द्रनगरमै किरिया गरेको परिवारजनले बताए ।
प्रहरी जवान थापाले गाउँकै कृष्ण माध्यमिक विद्यालयबाट कक्षा १२ उत्तीर्ण गरेका थिए । त्यसपछि प्रहरीमै कार्यरत काका रूपसिंह थापाको सहयोगमा प्रहरी तालिम केन्द्र दिपायलमा कार्यालय सहयोगीका रूपमा काम थालेको बताइन्छ । विसं २०७३ मा प्रहरी सेवामा प्रवेश गरेका थापाको पोस्टिङ प्रदेश प्रहरी गुल्म धनगढीमा थियो । केही महिनाअघि मात्रै उनको काठमाडौँ सरुवा भएको परिवारले जनाएको छ ।
थापाले ऋण गरेर धनगढीमा करिब १० धुर जग्गा किनेका थिए र त्यहाँ घर बनाउने सपना देखेको परिवारले बतायो । तर ऋण नसकिँदै उनको मृत्यु भएपछि त्यो सपना अधुरै रहन पुगेको छ ।
थापाका साला नारायण भट्टराईले भिनाजुको निधनपछि दिदी र आमाको अवस्था निकै दयनीय बनेको बताए । “आमाको उपचार चलिरहेको छ, भिनाजुको मृत्युपछि म नै उहाँहरूको सहारा बनेको छु,” भट्टराईले भने, “म केही महिनाअघि मात्रै विदेशबाट फर्किएको हुँ, फेरि जानुपर्ने अवस्था आउन सक्छ, त्यसपछि के हुन्छ भन्ने चिन्ता छ ।”
सरकारले उत्तम थापालाई सहिद घोषणा गरी परिवारलाई केही आर्थिक सहयोग उपलब्ध गराएको छ । तर आर्थिक सहयोगले मात्र परिवारको पीडा मेटिन नसक्ने पुष्पा थापाले बताइन् । उनले श्रीमान्को हत्या गर्नेहरूलाई कडाभन्दा कडा कारबाही हुनुपर्ने माग गर्दै आफूलाई जीवन निर्वाहका लागि सानो भए पनि रोजगारी उपलब्ध गराउन सरकारसँग आग्रह गरेकी छन् ।
सरकारले थापाको हत्याको आरोपमा सिन्धुली गोलञ्जोर गाउँपालिका–१ का अलिष श्रेष्ठ र रसुवा उत्तरगया गाउँपालिका–४ का सौरभ तामाङलाई पक्राउ गरी कारबाही प्रक्रिया अघि बढाइसकेको जनाएको छ ।
प्रतिक्रिया