सोलुखुम्बु : सोलुदूधकुण्ड नगरपालिका–७ नाजिङका स्थानीय अम्बरबहादुर विश्वकर्मा आइतबार बिहान वडा कार्यालयतर्फ जाँदा अरू दिनभन्दा फरक देखिए। ७२ वर्ष नाघिसकेका विश्वकर्माको अनुहारमा खुसी झल्किनुको कारण थियो—घर नजिकै स्वास्थ्य सेवा पाउने सुविधा ।
पहिले सामान्य बिरामी हुँदा पनि १० किलोमिटर टाढासम्म जानुपरेको स्मरण गर्दै विश्वकर्माले अब त्यो बाध्यता अन्त्य भएको बताए । “बिरामी हुँदा उकालो–ओरालो गर्दै अप्ठ्यारो बाटोमा हिँड्नुपर्दा पीडा झनै बढ्थ्यो,” उनले भने, “अब त औषधिका लागि टाढा जानु पर्दैन, वडा कार्यालयमै सेवा पाइने भयो ।”
विश्वकर्मामात्र होइन, अब नाजिङ र गार्मा क्षेत्रका नागरिकलाई पनि स्वास्थ्य सेवाका लागि टाढा धाउनुपर्ने बाध्यताबाट केही राहत मिल्ने भएको छ । सोलुदूधकुण्ड नगरपालिका–७ का वडाध्यक्ष सोनाम ग्याल्जेन शेर्पाले आइतबारदेखि आफ्नै कार्यकक्षबाट स्वास्थ्य क्लिनिक सञ्चालनमा ल्याएसँगै स्थानीयलाई सहज भएको हो ।
स्थानीय सोनामछोटी शेर्पाले वडाध्यक्षको यो पहलले स्वास्थ्य समस्या आइपर्दा ठूलो राहत पुग्ने बताइन् । “हिमाली भूगोलका कारण आधारभूत सेवाबाट टाढा रहँदै आएका नागरिकका लागि यो सानो देखिने पहल निकै प्रभावकारी छ,” उनले भनिन्, “वडा कार्यालयमा आउने नागरिकले कामसँगै स्वास्थ्य सेवा पनि पाउन थालेपछि स्थानीय तहप्रतिको विश्वास थप बढेको छ ।”
सोलुखुम्बु जिल्ला समुद्री सतहदेखि करिब १ हजार २०० मिटरदेखि ८ हजार ८४८ दशमलव ८६ मिटर उचाइसम्म फैलिएको छ । स्वास्थ्य कार्यालयको तथ्याङ्कअनुसार जिल्लाका धेरै बस्ती अझै पनि स्वास्थ्य संस्थाबाट पाँचदेखि १५ किलोमिटर टाढा रहेका छन् । विशेषगरी वृद्धवृद्धा, गर्भवती महिला र दीर्घरोगीका लागि स्वास्थ्यचौकीसम्म पुग्नु चुनौतीपूर्ण बन्दै आएको छ ।
सोलुदूधकुण्ड नगरपालिका–७ गार्माको वडा कार्यालय रहेको माथिल्लो गार्मा र सरकारी स्वास्थ्यचौकीबीचको दूरी करिब १० किलोमिटर रहेको वडाध्यक्ष शेर्पाले बताए । “यहाँका नागरिक सामान्य उपचारका लागि पनि टाढा जान बाध्य थिए,” उनले भने, “जनप्रतिनिधि भनेको कार्यालयमै बस्ने होइन, नागरिकको समस्या बुझेर समाधान खोज्ने हो भन्ने सोचका साथ यो क्लिनिक सुरु गरेका हौँ ।”
क्लिनिकको प्रभावकारिताअनुसार सेवाहरू थप व्यवस्थित गर्दै लैजाने योजना रहेको वडाध्यक्ष शेर्पाले जानकारी दिए । यसले सामान्य स्वास्थ्य समस्याका लागि पनि टाढाको स्वास्थ्य संस्थामा धाउनुपर्ने अवस्था क्रमशः अन्त्य गर्ने विश्वास लिइएको उनले बताए ।
उक्त स्वास्थ्य क्लिनिक हिमालयन केयर फाउन्डेसनको सहयोगमा सञ्चालन गरिएको वडासदस्य भलाकाजी कार्कीले बताए । नागरिकको सुझाव र आवश्यकताका आधारमा सेवाको दायरा विस्तार गर्ने योजना रहेको उनले जानकारी दिए ।
प्रतिक्रिया