३३औँ प्रहरी प्रमुखका दाबेदार कसको कति सम्भावना ?

विहीबार, १३ कार्तिक २०८२

काठमाडौँ : प्रहरी महानिरीक्षक (आईजीपी) चन्द्रकुवेर खापुङ छोटो समय प्रहरी सङ्गठनको नेतृत्व गरी अवकाशमा जानै लाग्दा नयाँ प्रहरी प्रमुख (३३औँ) का लागि प्रतिस्पर्धा सुरु भएको छ ।

२७ कात्तिकदेखि प्रहरीमा नयाँ नेतृत्व

खापुङ २ महिना ७ दिन प्रहरी सङ्गठनको नेतृत्व गरी २६ कात्तिकको मध्यरातपछि अवकाशमा जाँदै छन् । ३० वर्षे सेवा अवधि पूरा गरी प्रहरी सङ्गठनको नेतृत्वबाट उनी अलग हुन लाग्दा नयाँ नेतृत्वका लागि दुईवटा समूहबीच प्रतिस्पर्धा हुने भएको छ ।

त्यो हो– १८ चैत २०५४ मा प्रहरी सेवामा प्रवेश गरेको १११औँ टोली र ५ पुस २०५३ मा राष्ट्रिय अनुसन्धान विभागमा प्रवेश गरी २०५८ सालमा प्रहरीमा स्थानान्तरण भएको टोली । २५ पुस २०५८ मा मन्त्रिपरिषद्को निर्णयअनुसार राअविका ४६ जनालाई गुप्तचरबाट स्थानान्तरण गरेर नेपाल प्रहरीमा ल्याइएको थियो ।

र, यो दौडमा छन् प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) दानबहादुर कार्की, राजन अधिकारी, डा. मनोजकुमार केसी र सिद्धीविक्रम शाह । कार्की, अधिकारी र डा. केसी १११औँ टोलीका हुन् भने शाह राअविबाट प्रहरीमा स्थानान्तरण भएका हुन् । अर्को कुरा, १११औँ टोलीका तीन जना र राअविबाट स्थानान्तरण भएका शाहको टोलीबीच को वरिष्ठ भन्ने विवाद पनि छ ।

राअविबाट प्रहरीमा स्थानान्तरण भएका शाहको टोली प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सम्म १११औँ टोलीभन्दा वरीयतामा अघि थियो । तर, प्रहरी नायब महानिरीक्षक (डीआईजी) मा १११औँ टोलीका कार्की, अधिकारी र केसीले उनीहरूलाई उछिने । एआईजी बढुवामा पनि यही स्थिति कायम रह्यो । अर्थात् कार्की, अधिकारी र केसीभन्दा शाह एक महिनापछि एआईजी बने ।

प्रहरी महानिरीक्षक खापुङको छोटो कार्यकाल जेनजी आन्दोलनका कारण जति अप्रिय र दुःखद हुन पुग्यो, यस आन्दोलनको प्रभाव नयाँ नेतृत्व चयनमा पनि पर्ने निश्चितजस्तै छ । अर्थात् भावी नेतृत्वका लागि अघि सारिएका पात्रहरू किनारा लाग्ने सम्भावना पनि देखिँदै छ । बदलिएको राजनीतिक परिदृश्य र फेरिएको शक्तिका कारण कसले बाजी मार्ला ? यसै भन्न सकिने अवस्था छैन ।

यतिचाहिँ भन्न सकिन्छ– दाबेदार चार जनामध्ये सेवा प्रवेशका हिसाबले वरिष्ठ र एआईजी वरीयतामा चौथो नम्बरमा रहेका शाह आईजीपी भए उनको अवकाशपछि पनि अन्य तीन जनामध्ये एक जना आईजीपी बन्ने सम्भावना कायम नै रहनेछ ।

तर, कार्की वा उनको समूहबाट आईजीपी नियुक्त गरिए शाहको टोली भने एआईजीबाटै अवकाशमा जानेछन् । शाह आईजीपी भएमा ४ पुस २०८३ सम्म र कार्की वा उनको समूहबाट आईजीपी भए १७ चैत २०८४ सम्म नेतृत्वमा रहनेछन् ।

खापुङले १९ भदौमा प्रहरी सङ्गठनको नेतृत्व सम्हालेको चार दिनपछि, अर्थात् २३ भदौमा भएको जेनजी आन्दोलनमा प्रहरीले अत्यधिक बल प्रयोग ग¥यो । सोही दिन काठमाडौँमा १९ र इटहरीमा २ जनाले ज्यान गुमाए । यसविरुद्ध २४ भदौमा भएको प्रदर्शन त विध्वंसमै परिणत भयो । यसले तत्कालीन प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल नेपाली काङ्ग्रेससमेत सहभागी एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार नै ढल्न पुग्यो र अहिले दलबेगरको अन्तरिम सरकार मुलुकमा छ ।

जेनजी आन्दोलनका क्रममा समग्रमा तीन प्रहरीसहित ७५ जनाको मृत्यु र सिंहदरबारसहित सरकारी र निजी सम्पत्तिमा भएको भौतिक क्षतिले वर्तमान प्रहरी नेतृत्वमाथि ‘असफल’ आईजीपीको ट्याग लागिरहेका बेला नयाँ आईजीपी चयनलाई अहिले विशेष चासोका साथ हेरिएको छ । नेपाल प्रहरीमा अहिले ७९,५४१ जनशक्ति कार्यरत छन् ।

अब जाऊँ, सम्भावित प्रहरी महानिरीक्षकका दाबेदारको पृष्ठभूमितर्फ । अहिले एआईजीको पहिलो वरीयतामा कार्की छन् । तत्कालीन प्रधानमन्त्री ओली नेतृत्वको सरकारले पहिलो वरीयतामा बढुवा गरेका कार्की अहिले चर्को विवादमा मुछिएका छन् ।

कार्की जेनजी आन्दोलन सर्वाधिक अराजक भएको २४ भदौमा काठमाडौँ उपत्यका प्रहरी प्रमुखका रूपमा हाजिर भएका थिए । उनी हाजिर भएको केही घण्टामै प्रहरीले जिम्मेवारी छाड्दा काठमाडौँ उपत्यका नै धुवाँको मुस्लोमय भएको थियो ।

उपत्यकामा अत्यधिक आगजनी र तोडफोड हुँदा उनको मातहतका तीन प्रहरीले पनि ज्यान गुमाएका थिए । बताइन्छ– कार्कीले त्यस दिन सञ्चारसेटबाटै थुनुवाहरू छाड्न र प्रहरीलाई रक्षात्मक हुन निर्देशन नदिएको भए काठमाडौँ उपत्यकामा यति ठूलो मानवीय र भौतिक क्षति हुने थिएन, प्रहरी कर्मचारीको मनोबल गिर्ने थिएन । त्यस दिन उनले कमान्डरका हिसाबले नदिनुपर्ने निर्देशन दिएका थिए ।

यतिमात्र होइन, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई नख्खु कारागारबाट बाहिर निकाल्ने काममा पनि उनको प्रत्यक्ष सहभागिता रहेको दाबी गरिएको छ ।

उच्चस्तरीय छानबिन आयोगका प्रवक्तासमेत रहेका पूर्वएआईजी विज्ञानराज शर्माले एउटा अन्तर्वार्तामा ‘एआईजी कार्कीको निर्देशनले प्रहरीले आफ्नो जिम्मेवारी छाड्दा उपत्यकामा ठूलो मात्रामा मानवीय र भौतिक क्षति हुन गएको’ टिप्पणी गरेका छन् । यो घटनाले कार्की आफ्नो जिम्मेवारीबाट पूर्णतः विमुख भएको देखिन्छ ।

छानबिन आयोगका प्रवक्ता शर्माको यस्तो टिप्पणीले प्रहरी नेतृत्वमा पुग्ने कार्कीको सपना सपनामै सीमित हुने सम्भावना बढ्दो छ । यतिमात्र होइन, प्रवक्ता शर्माले एआईजी कार्कीलाई छानबिनको दायरामा ल्याइने स्पष्टसँग बोलेका छन् ।

अर्कोतर्फ, जेनजी आन्दोलनका बेला जिल्ला प्रहरी परिसर काठमाडौँको प्रमुख रहेका एसएसपी विश्व अधिकारीलाई डीआईजी बढुवा सिफारिसमा छुटाइएकाले पनि कार्की प्रहरी नेतृत्वमा पुग्ने सम्भावना अहिले नै कमजोर भइसकेको टिप्पणी गर्न थालिएको छ ।

एसएसपी अधिकारी डीआईजीको पहिलो दाबेदार थिए । एसएसपीको पहिलो वरीयतामा रहेका अधिकारीलाई छाडेर उनीपछिका पाँच जनालाई चार दिनअघि मात्रै डीआईजी बढुवाका लागि सिफारिस गरिएको छ ।

तर, सङ्गठनमा एआईजी कार्कीले इमानदार प्रहरी अधिकृतको परिचय बनाएका छन् । कुनै ठूलो आर्थिक विवादमा नमुछिएका कार्कीसँग फिल्डदेखि आईजीपी सचिवालयसम्म बसेर काम गरेको अनुभव छ । काठमाडौँ परिसर प्रमुख हुँदा भुटानी शरणार्थी प्रकरणको मुद्दा उनैले चलाएका थिए ।

कार्कीपछिको वरीयतामा रहेका अधिकारी अहिले प्रहरी प्रधान कार्यालयस्थित मानवस्रोत विकास विभागको नेतृत्वमा छन् । 

उनी लो–प्रोफाइलमा बसेर काम गर्ने प्रहरी अधिकृतका रूपमा चिनिन्छन् । अक्सर बाहिर चर्चामा आउन नचाहने उनी प्रहरी सङ्गठनभित्र प्राज्ञिक छवि बनाएका प्रहरी अधिकृतका रूपमा चिनिन्छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पनि लामो समय काम गरेका अधिकारी जागिरे अवधिदेखि अहिलेसम्म विवादरहित तरिकाले काम गर्ने प्रहरी अधिकृतका रूपमा चिनिन्छन् ।

वरीयतामा उनीहरूपछिका डा. केसीलाई अहिले भावी नेतृत्वका लागि मुख्य दाबेदार मानिएको छ । २०८० सालमा डा. केसी काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रमुख हुँदा चर्चित भुटानी शरणार्थी प्रकरण बाहिरिएको थियो ।

२७ वैशाख २०८० मा पूर्वगृहमन्त्री बालकृष्ण खाँण र उनका स्वकीय सचिव नरेन्द्र केसीलाई उनकै कार्यालयले पक्राउ गरेको थियो । उच्च राजनीतिक नेतृत्वको दबाबमा लुकाएर राखिएको शरणार्थीको फाइल अपराध अनुसन्धान कार्यालयका प्रमुख डा. केसीले खोलेका थिए ।

चर्चित शरणार्थी प्रकरणमा संलग्न आरोपमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री रामबहादुर थापा ‘बादल’पुत्र प्रतीक थापा, गृह मन्त्रालयका तत्कालीन सचिव टेकनारायण पाण्डे र बिचौलिया बेचन झा अहिले पनि पुर्पक्षका लागि थुनामा छन् । शरणार्थी प्रकरणमा संलग्न केशवप्रसाद दुलाल र सानु भण्डारीसमेत अहिले कारागारमा छन् ।

२०८१ जेठमा डीआईजीमा बढुवा भएपछि प्रहरी प्रधान कार्यालयको विशेष ब्युरोमा सरुवा भएका डा. केसी नेतृत्वमा रहेको टिमले पूर्वगृहमन्त्री रामबहादुर थापापुत्र प्रतीक थापालाई पक्राउ गरेको थियो ।

शरणार्थी प्रकरणमा संलग्न बेचन झालाई पनि विशेष ब्युरोले पक्राउ गरेको थियो । उनी पक्राउ परेपछि सरकार नै परिवर्तन भयो । त्यसपछि छायामा परेका डा. केसी बदलिँदो राजनीतिक घटनाक्रमपछि केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को प्रमुखमा कार्यरत छन् ।

उता, डीआईजी र एआईजी बढुवामा पछाडि परेका शाह अहिले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको प्रमुख छन् । जेनजी आन्दोलनका क्रममा प्रधान कार्यालयस्थित कार्य विभाग प्रमुख रहेका शाहकै कारण प्रधान कार्यालय आगजनी हुनबाट जोगिएको थियो ।

प्रधान कार्यालय जलाउन आएका प्रदर्शनकारीलाई सम्झाइबुझाइ फर्काएको जस शाहलाई नै जान्छ । प्रहरी महानिरीक्षक खापुङले एउटा कार्यक्रममा यसको जस शाहलाई नै जाने भनेका थिए ।

गत १५ चैतमा तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनपछि भारत भागेका दुर्गा प्रसाईँलाई समात्न शाहले मुख्य भूमिका खेलेका थिए । प्रहरी सङ्गठनमा उनलाई मिजासिलो र समन्वयकारी प्रहरी अधिकृतका रूपमा चिन्ने गरिन्छ ।

आजको राजधानी दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया

पत्रपत्रिकाबाट
लेखकको बारेमा
पत्रपत्रिकाबाट

सम्बन्धित समाचार