सुनसरीमा प्लास्टिकको झोला भित्र र झापामा घरको बरन्डामा नवजात शिशु फेला

के भन्छ प्रहरी ?

आइतबार, ०२ कार्तिक २०८२
झापामा फेला परेको नवजात शिशुलाई उपचार गरिँदै

इटहरी : सुनसरी र झापाका विभिन्न स्थानमा फेला परेको दुई नवजात शिशुको उद्धार गरी उपचार सुरु गरिएको छ।

सुनसरीको कोशी गाउँपालिका–८ शर्मा टोलमा शनिवार राति ९ बजेतिर एक नवजात शिशु प्लास्टिकको झोलामा बेरेर फालिएको अवस्थामा स्थानीय विजय कुमार खत्वेले फेला पारेका थिए।

बच्चा रोएको आवाज सुनेर घटनास्थल पुगेका खत्वेले तत्काल इलाका प्रहरी कार्यालय भन्टावारिलाई जानकारी गराए।

प्रहरी वरिष्ठ नायब निरीक्षक पुण्यप्रसाद अधिकारीको नेतृत्वमा खटिएको टोलीले स्थानीयको सहयोगमा शिशुलाई उद्धार गरी कोशी हेल्थ केयर भन्टावारिमा प्राथमिक उपचारका लागि पुर्‍यायो।

अस्पतालका चिकित्सकका अनुसार शिशु भर्खरै जन्मिएको देखिन्छ र उद्धारको समयमा अवस्था सामान्य थियो। 

त्यसैगरी, झापाको बुद्धशान्ति गाउँपालिका–७ सुनमाईस्थित एक घरको बरन्डामा अन्दाजी ४–५ दिनकी नवजात छोरी फेला परेकी छन्।

भाडामा बस्ने ताप्लेजुङको श्रिजंगा गाउँपालिका–७ का ओमप्रकाश तुमीहाङ लिम्बुले शिशु देखेपछि इलाका प्रहरी कार्यालय बुधबारेलाई जानकारी दिएका थिए।

प्रहरी टोली र स्थानीयवासीको उपस्थितिमा शिशुलाई उद्धार गरी प्रदेशीय अस्पताल भद्रपुर पठाइएको छ। अस्पतालका अनुसार शिशुको स्वास्थ्य अवस्था सामान्य रहेको छ।

दुवै घटनामा शिशुहरूलाई फाल्ने व्यक्तिको खोजी र अनुसन्धान प्रहरीले जारी राखेको जनाएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार