झापाका दुई दर्जनभन्दा बढी विद्यालयलाई फिफाबाट फुटबल हस्तान्तरण

सोमबार, १४ पुस २०८२

झापा : झापामा विद्यालयस्तरको ग्रासरुट फुटबल प्रवर्द्धनका लागि दुई दर्जनभन्दा बढी विद्यालयलाई फिफाले उपलब्ध गराएको फुटबल वितरण गरिएको छ।

फिफाले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई नेपालभर वितरणका लागि उपलब्ध गराएको ‘एडिडास’ ब्रान्डका फुटबल झापाका विद्यालयलाई हस्तान्तरण गरिएको हो। एन्फाको समन्वयमा शुक्रबार भद्रपुरस्थित मेची रंगशालाको परिसरमा आयोजित विशेष कार्यक्रममा ती फुटबल वितरण गरिएको हो।

एन्फाले जारी गरेको सूचनाअनुसार आवेदन दिएका र छनोटमा परेका विद्यालयलाई आवश्यक संख्यामा फुटबल उपलब्ध गराइएको छ। झापा जिल्ला फुटबल संघका अध्यक्ष तथा फुटबल प्रशिक्षक घिरिराज आलेको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख अतिथि एन्फा अध्यक्ष पंकजविक्रम नेम्बाङले सम्बन्धित विद्यालयका प्रतिनिधिलाई फुटबल हस्तान्तरण गरेका थिए।

कार्यक्रममा भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेल, झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भेषराज भण्डारी ‘प्रशान्त’, दक्षिण एसियाली फुटबल महासंघ ९साफ० का महासचिव पुरुषोत्तम कट्टेल, एन्फा उपाध्यक्षद्वय दावा लामा र दीपक खतिवडा, भद्रपुर झापा गोल्डकपका अध्यक्ष दीपेश ढकाललगायतले मन्तव्य राख्दै एन्फाको पहल र फिफाको सहयोगको प्रशंसा गरे।

वक्ताहरूले फिफाको सहयोगले नेपालको ग्रासरुट फुटबललाई महत्वपूर्ण टेवा पुग्ने विश्वास व्यक्त गर्दै यो कार्यक्रम नेपालमा ल्याउन एन्फा नेतृत्वले खेलेको भूमिकाको खुलेर प्रशंसा गरेका थिए।

झापा जिल्ला फुटबल संघका सदस्य गोपाल पोखरेलले कार्यक्रम सञ्चालन गरेका थिए भने उपाध्यक्ष मनिष दाहालले स्वागत मन्तव्य राखेका थिए। कार्यक्रममा एन्फाका पदाधिकारी, जिल्ला खेलकुद विकास समितिका प्रतिनिधि, फुटबलप्रेमी तथा विभिन्न संघसंस्थाका प्रतिनिधिको उपस्थिति रहेको थियो।

फिफाले यस वर्ष विश्वका केही मुलुकमा ‘फिफा फुटबल फर स्कूल’ कार्यक्रम सञ्चालन गरेको र सोही कार्यक्रमअन्तर्गत झापामा पनि फुटबल वितरण गरिएको जानकारी दिइएको छ। आयोजकका अनुसार यस किसिमको सहयोगले विद्यालयस्तरमै फुटबलप्रति आकर्षण बढाउँदै सक्षम खेलाडी उत्पादनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार