डीआईजीपी रनिङ फुटबलः नेपाल पुलिस स्कुल (रातो) र सिद्धार्थ सेकेण्डरी स्कुल सेमिफाइनलमा

सोमबार, १४ पुस २०८२

धरान : सातौँ कोशी प्रदेश अन्तर विद्यालय डीआईजीपी रनिङ फुटबल प्रतियोगिता–२०८२ अन्तर्गत सोमबार सम्पन्न दुई क्वार्टरफाइनल खेलबाट आयोजक नेपाल पुलिस स्कुल (रातो) र सिद्धार्थ सेकेण्डरी स्कुल, सुन्दरहरैँचा मोरङ सेमिफाइनलमा प्रवेश गरेका छन् ।

नेपाल पुलिस स्कुल धरानको खेलमैदानमा सम्पन्न पहिलो क्वार्टरफाइनल खेलमा आयोजक नेपाल पुलिस स्कुल (रातो) ले निदि सेकेण्डरी स्कुल, विर्तामोड झापालाई २–१ गोल अन्तरले पराजित गर्दै सेमिफाइनल यात्रा तय गरेको हो ।

खेलको पहिलो हाफको ९औँ मिनेटमा निदि सेकेण्डरी स्कुलका जर्सी नं. ७ का आदर्श मेचेले गोल गर्दै टिमलाई अग्रता दिलाएको खेल विवरणमा उल्लेख छ । तर खेलको २४औँ मिनेटमा नेपाल पुलिस स्कुलका जर्सी नं. ९ का उज्वल थापाले बराबरी गोल फर्काए ।

दोस्रो हाफको ४५औँ मिनेटमा आयोजक टिमका कप्तान जर्सी नं. १० का समिर राईले निर्णायक गोल गर्दै टिमलाई २–१ को जित दिलाए ।

खेलका उत्कृष्ट खेलाडी (म्यान अफ द म्याच) नेपाल पुलिस स्कुलका कप्तान समिर राई घोषित भए । उनलाई प्रमुख अतिथि नेपाल प्रहरी प्रदेश कार्यालय धरानका प्रमुख तथा विद्यालय व्यवस्थापन समिति अध्यक्ष प्रहरी वरिष्ठ उपरीक्षक ज्ञानेन्द्र प्रसाद फुयालले नगद रु. १ हजार ५ रुपैयाँ र मेडल प्रदान गरेका थिए ।

यसैगरी सोमबार नै सम्पन्न दोस्रो क्वार्टरफाइनल खेलमा सिद्धार्थ सेकेण्डरी स्कुल, सुन्दरहरैँचा मोरङले माउण्ट हर्मन एकेडेमी, धरानलाई ट्राइब्रेकरमा ३–२ गोल अन्तरले पराजित गर्दै सेमिफाइनल यात्रा सुरक्षित गरेको छ ।

निर्धारित समय (३५–३५ मिनेट) सम्म दुवै टिमबाट गोल हुन नसकेपछि खेल ट्राइब्रेकरमा पुगेको थियो । ट्राइब्रेकरमा सिद्धार्थ सेकेण्डरी स्कुलका जर्सी नं. ९ का अनिस राई, जर्सी नं. १६ का निपेश तामाङ र जर्सी नं. ५ का कमल कार्कीले गोल गरे । जर्सी नं. ११ का जेम्स देवान र जर्सी नं. १ का आयुष लिम्बू भने गोल गर्न सकेनन् ।

माउण्ट हर्मन एकेडेमीका तर्फबाट जर्सी नं. ९ का सुदिन तामाङ र जर्सी नं. १५ का प्रिन्स बिष्टले गोल गरेका थिए । जर्सी नं. १० का सिकुम लावती, जर्सी नं. ४ का राजदिप तामाङ र जर्सी नं. २१ का सुवर्ण लोहनी गोल गर्न असफल भए ।

उक्त खेलका म्यान अफ द म्याच सिद्धार्थ सेकेण्डरी स्कुलका गोलरक्षक जर्सी नं. १ का आयुष लिम्बू घोषित भए । उनलाई पनि प्रमुख अतिथि प्रहरी वरिष्ठ उपरीक्षक ज्ञानेन्द्र प्रसाद फुयालले नगद रु. १ हजार ५ रुपैयाँ र मेडल प्रदान गरेका थिए ।

नेपाल पुलिस स्कुल धरानको आयोजनामा पुस ९ गतेदेखि सुरु भएको प्रतियोगिता पुस १९ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ । प्रतियोगितामा कोशी प्रदेशका १६ वटा विद्यालयका टिमहरूको सहभागिता रहेको छ ।

आयोजकका अनुसार भोलि मंगलबार हुने पहिलो क्वार्टरफाइनल खेलमा प्रभात सेकेण्डरी इङ्लिस स्कुल धरान र दिल्ली पब्लिक स्कुल विराटनगरबीच प्रतिस्पर्धा हुनेछ भने दोस्रो खेल नेपाल पुलिस स्कुल धरान (निलो) र पिनाकल ज्ञान मन्दिर कानेपोखरी, मोरङबीच हुने छ ।

प्रतिक्रिया

स्वर्णिम राई
लेखकको बारेमा
स्वर्णिम राई
धरानबाट पत्रकारिता गर्ने राई प्रदेश खबरका लागि कलम चलाउँछिन् ।

सम्बन्धित समाचार