महिला फुटबल : नेपालसँग भारत पराजित

बुधबार, १२ कार्तिक २०८२

काठमाडौँ : मैत्रीपूर्ण महिला फुटबल खेलमा नेपालले भारतलाई  टाइब्रेकरमा पराजित गरेको छ ।

भारतको सिक्किमस्थित पाल्जोर रङ्गशालामा आज सम्पन्न खेलमा नेपालले  घरेलु टोली भारतलाई टाइब्रेकरमा ३–० ले हराएको हो । टाइब्रेकरमा नेपालका सविता रानामगर, रश्मिकुमारी घिसिङ र निशा थोकरले गोल गरेपछि नेपाल विजयी भयो ।

नेपालका गोलकिपर अञ्जना रानामगरले भारतको पहिलो र तेस्रो पेनाल्टी सजिलै रोकिन् । दोस्रो पेनाल्टी भने बाहिरिएको थियो ।

त्यसअघि दुवै टोलीले खेलको निर्धारित ९० मिनेटको खेल १–१ को बराबरीमा खेलेका थिए । खेलको निर्धारित समय बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा पुगेको थियो । खेलमा दुवै गोल पहिलो हाफमा भएको थियो । 

खेलको ३०औँ मिनेटमा भारतकी सौम्या गुगुलोथले गोल गरिन् । त्यसपछि खेलको पहिलो हाफको अतिरिक्त समयमा नेपालकी अनिता बस्नेतले बराबरी गोल फर्काएकी थिइन् ।  

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार