विराटनगर : मोरङ जिल्ला अदालतमा कर्मचारी मागिएको भन्दै नक्कली विज्ञापन प्रयोग गरेर ठगी गर्ने एक सङ्गठित गिरोहले २७ जनाभन्दा बढी नागरिकलाई लाखौँ रुपैयाँ ठगेको घटना सार्वजनिक भएको छ।
पीडितहरूले सामूहिक रूपमा जिल्ला प्रहरी कार्यालय मोरङमा उजुरी दिएपछि यो प्रकरण बाहिर आएको हो।
प्रारम्भिक अनुसन्धान अनुसार ठगीमा पुनमदेवी साह नामक व्यक्तिको संलग्नता पाइएको छ भने सोही गिरोहले सप्तरीमा पनि यस्तै शैलीमा ठगी गरेको प्रमाण भेटिएको प्रहरीको दाबी छ।
गिरोहले मोबाइलमार्फत ‘जिल्ला अदालतमा करारका कर्मचारीको विज्ञापन खुलेको छ’ भन्दै नक्कली विज्ञापन देखाउने गर्थे। उनीहरूले प्रत्येक पीडितबाट २ हजार ५ सयदेखि २० हजार रुपैयाँसम्म असुल गरेको र कतिपय पीडितबाट ३ लाख रुपैयाँसम्म उठाएको विवरण बाहिर आएको छ।
अझ हैरान पार्ने कुरा—ठगहरूले पीडितहरूलाई घटनाबारे बाहिर कुरा गरे ज्यान मार्ने धम्की समेत दिएका छन्। उनीहरूले २०८२ साउन १२ गतेको मितिमा ‘नायव सुब्बा १५ जना, कार्यालय सहयोगी २२ जना र सवारी चालक ५ जना मागिएको’ भन्दै ठगी गरेका थिए।
ठगीलाई विश्वसनीय देखाउन गिरोहले नक्कली कर्मचारी परिचयपत्र समेत तयार गर्ने गरेको पाइएको छ। ती परिचयपत्रमा ‘प्रशासन अधिकृत केदारनाथ पौडेल’को नाम र नक्कली हस्ताक्षर प्रयोग गरिएको थियो।
न्याय खोज्दै पीडितहरू सुरुमा जिल्ला अदालत मोरङ पुगेका थिए। तर अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले अदालतका पदहरू लोकसेवा आयोगमार्फत मात्र खुल्ने भन्दै पीडितहरूलाई प्रहरीमा उजुरी दिन सुझाव दिएका थिए।
जिल्ला प्रहरी कार्यालय मोरङकी प्रवक्ता डिएसपी कोपिला चुँडालका अनुसार पीडितहरूको उजुरीपछि घटनाको विस्तृत अनुसन्धान सुरु गरिएको छ। उनले गिरोहका सदस्यहरूको पहिचान र पक्राउका लागि विशेष टोली खटाइएको जानकारी दिइन्।
प्रतिक्रिया