मनाङ : अन्नपूर्ण पदमार्गअन्तर्गत मनाङतर्फको पदयात्रा एक साताका लागि रोकिएको छ। हिमपात रोकिए पनि हिमपहिरोको जोखिम कायमै रहेकाले जिल्ला प्रशासन कार्यालयले सो निर्णय गरेको हो।
जिल्ला प्रशासन कार्यालयका अनुसार पर्यटकलाई आगामी एक सातासम्म पदयात्रामा नजान अनुरोध गरिएको छ। प्रमुख जिल्ला अधिकारी नवराज पौड्यालका अनुसार हिमपातका कारण सडक अवरुद्ध भए पनि हिउँ पन्छ्याएर खाङसारसम्मको बाटो खुलेको छ।
उनका अनुसार हिउँ र पानी पर्न रोकिए पनि पदमार्गमा हिँड्न अझै सुरक्षित अवस्था छैन। प्रशासनले भनेको छ, “पदयात्रा तत्काल सम्भव छैन, जोखिम टरेपछि मात्रै खुला गरिनेछ।”
हालसम्म करिब १ हजार ५०० आन्तरिक तथा बाह्य पर्यटकको उद्धार गरिएको छ, जसमा करिब २०० विदेशी पर्यटक रहेका छन्। हिमपातका कारण तिलिचो आधारशिविरमा अड्किएका करिब ४०० पर्यटक तिलिचो पुग्न नसकेपछि फर्केका थिए।
प्रतिक्रिया