काठमाडौँ : प्रधानमन्त्री सुशीला कार्कीले सरकार, राजनीतिक दल र जेनजी (Gen Z) समूहबीच निरन्तर संवाद र विचार आदानप्रदान आवश्यक रहेको धारणा राखेकी छन्।
प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार भएको त्रिपक्षीय छलफलमा उनले सबै विचार र सोच एकसाथ मिलाएर अघि बढ्नुपर्ने आवश्यकता औंल्याइन्। कार्कीले भनिन्, “मुलुक हाम्रो हो, हामीले नै बनाउने हो। हामीले नबनाए कसैले बनाइदिँदैन। एकपटकको कुराकानीले हुँदैन, बारम्बार छलफल गर्नुपर्छ।”
निर्वाचनको माहोल बनाउन प्रधानमन्त्रीले यस प्रकारको पहिलो र महत्वपूर्ण छलफल आयोजना गरेकी हुन्।
बैठकमा सहभागी जेनजी समूहका प्रतिनिधिहरूले चुनाव गर्नुपर्नेमा सहमति जनाउँदै, सुशासन र भ्रष्टाचारविरुद्धको ठोस कदमका लागि सरकारसँग अपेक्षा राखेका थिए। उनीहरूले चुनावको तयारीसँगै पारदर्शिता र जवाफदेहितामुखी शासन प्रणालीमा जोड दिए।
छलफलमा उठेका विषय र निष्कर्षबारे सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले पत्रकार सम्मेलनमार्फत जानकारी दिने तयारी भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
छलफलमा सरकारतर्फबाट गृहमन्त्री ओमप्रकाश अर्याल, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री डा. महावीर पुन, सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल सहभागी थिए।
राजनीतिक दलका तर्फबाट नारायणकाजी श्रेष्ठ, वर्षमान पुन, माधव सापकोटा, प्रकाश अधिकारी, दीपक कार्की, प्रकाश ज्वाला, राजेन्द्र पाण्डे, मोहन श्रेष्ठ, राजेन्द्र गुरुङ, निशा डाँगी, स्वर्णिम वाग्ले, महेश बर्तौला, क्षितिज थेबे, वसन्त कुशवाहा र प्रकाशशरण महत सहभागी थिए।
जेनजी समूहको तर्फबाट मिराज ढुङ्गाना, विवेक दाहाल, जेम्स कार्की, अमीत खनाल र राजन रानामगर उपस्थित थिए।
प्रतिक्रिया