पोखरामा ‘सफलताको सुरुवात’ : नेशनल लाइफका ३०० उत्कृष्ट अभिकर्ता सम्मानित

शुक्रबार, १४ कार्तिक २०८२

पोखरा – नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले उत्कृष्ट अभिकर्ताहरूलाई प्रोत्साहन तथा उत्प्रेरणा दिने उद्देश्यसहित “सफलताको सुरुवात” कार्यक्रम पोखरास्थित होटल पोखरा ग्राण्डमा सम्पन्न गरेको छ।

१ रात २ दिनको विशेष कार्यक्रममा देशभरिबाट ३०० जना उत्कृष्ट अभिकर्ताहरूले सहभागिता जनाएका थिए।

२०८२ भदौ महिनाको मासिक योजनाअन्तर्गत उत्कृष्ट अभिकर्ता छनोट गरी कार्यक्रम आयोजना गरिएको कम्पनीले जनाएको छ। अभिकर्ताहरूलाई प्रोत्साहन तथा सफलताको अनुभव साटासाट गराउने उद्देश्यले कार्यक्रमको मुख्य आकर्षण महानायक राजेश हमालको उत्प्रेरणात्मक प्रस्तुति थियो।

"कम्पनीको सफलता अभिकर्तालाई समर्पित" – प्रमुख कार्यकारी अधिकृत

कार्यक्रमका प्रमुख अतिथि तथा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुरेश प्रसाद खत्रीले पानस प्रज्वलन गरी कार्यक्रम उद्घाटन गरे। खत्रीले भने,“आर्थिक वर्ष २०८१/८२ मा व्यावसायिक सफलता हासिल गर्न अभिकर्ताहरूको भूमिका निर्णायक रह्यो। त्यसैले हामी अभिकर्तालाई सदैव उच्च प्राथमिकतामा राख्छौँ।”

उनका अनुसार अभिकर्ताको प्रेरणा र समर्पणलाई सम्मान गर्दै भविष्यमा पनि आकर्षक योजना ल्याइनेछ। कार्यक्रमका दौरान कम्पनीका बजार विभाग प्रमुख विवेक शर्माले आधुनिक बिक्री प्रविधि र रणनीतिसम्बन्धी विशेष प्रशिक्षण प्रदान गरे।

कार्यक्रममा विशेष अतिथि महानायक राजेश हमालले आफ्नो जीवन यात्रा, सङ्घर्ष र निरन्तरताको कथासहित उपस्थित अभिकर्तालाई प्रेरित गरे।  हमालले भने, “जुनसुकै पेसा अपनाए पनि निरन्तरता, जिम्मेवारी र लगनशीलता अपनाएँ भने सफलता अवश्य प्राप्त हुन्छ।”

उनले सपनालाई लक्ष्यमा बदल्ने आत्मविश्वास र नियमितताले नै आफूलाई सफल बनाएको बताए। देशभरिबाट चयन भएर आएका अभिकर्तालाई सिइओ खत्रीले सम्मानपत्र प्रदान गरे।

कार्यक्रम मनोरञ्जनात्मक प्रस्तुति, संवाद सत्र तथा विविध गतिविधिसहित उत्साहपूर्ण वातावरणमा सम्पन्न भयो। सहभागी अभिकर्ताहरूले कार्यक्रमले व्यावसायिक विकासमा ठोस प्रेरणा प्राप्त भएको बताउँदै कपनीप्रतिको प्रतिबद्धता अझ प्रगाढ बनाएको प्रतिक्रिया दिए।

 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार