झापा: , केही वर्षअघिसम्म गाउँ–गाउँका सडक माटो, गिटी र ग्राभेलमै सीमित थिए । वर्षा लागेपछि हिलो, हिउँदमा धुलो, र केही समयमै बिग्रिने संरचना स्थानीयका लागि बाध्यता जस्तै थियो । तर,पछिल्लो समय झापासहित पूर्वी नेपालका गाउँ–नगरमा सडकको स्वरूप फेरिँदै गएको छ । यस परिवर्तनको केन्द्रमा छन् — एनएस मार्क प्राप्त इन्टरलकिङ पेभर्स ।
झापाको अर्जुनधारा–७, भाङवारीमा आठ वर्षअघि स्थापना भएको विल्डकन इन्डष्ट्रिज प्रालि गुणस्तरीय इन्टरलकिङ पेभर्स उत्पादनमार्फत यही परिवर्तनको एउटा उदाहरण बनेको छ । उद्योगका सञ्चालक नविन गट्टानीका भन्छन् – ‘हामीले उत्पादनमा कुनै सम्झौता गरेनौं, एनएस प्राप्त गरेपछि गुणस्तर हाम्रो पहिलो प्राथमिकतामा प¥यो । हाम्रो उत्पादन अहिले झापासहित पश्चिम नेपालको कैलालीसम्म पुगेको छ ।’
जर्मन प्रविधिबाट उत्पादन हुने विल्डकनका टायल्स, ब्लक र इन्टरलकिङ पेभर्स झापादेखि पश्चिम नेपालको कैलालीसम्म प्रयोग भइरहेका छन् । उद्योगले एम –३० देखि एम – ५० ग्रेडसम्मका एनएस इन्टरलकिङ पेभर्स उत्पादन गर्दै आएको छ । करिब ६० करोड रुपैयाँको लगानीमा सञ्चालनमा आएको यो उद्योग नेपालकै पहिलो एनएस प्राप्त इन्टरलकिङ उद्योग भएको दाबी गरिएको छ ।
उद्योगले प्रत्यक्ष रूपमा ३५० जनालाई रोजगारी दिएको छ, जसले स्थानीय अर्थतन्त्रमा समेत सकारात्मक प्रभाव पारेको छ ।
उद्योगका सञ्चालक गट्टानीका अनुसार एनएसको मापदण्डअनुसार उत्पादन गरिएका पेभर्स सडकदेखि बन्दरगाहसम्म प्रयोग गर्न मिल्ने खालका छन् । झापाका अधिकांश स्थानीय तहले पछिल्लो समय पूर्वाधार निर्माणमा एनएस प्राप्त इन्टरलकिङको प्रयोग गर्न थालेका छन् ।
‘गुणस्तरीय विकास निर्माणमा लगानी बढ्दा दीर्घकालीन फाइदा हुन्छ,’ गट्टानी भन्छन्, ‘झापामा यस्ता उद्योग थपिँदै गए नेपालको निर्माण क्षेत्रमै गुणस्तरको स्तर माथि उठ्छ ।’
उपभोक्ता समिति होस् वा ठेक्कामार्फत गरिएको काम नै किन नहोस् – विल्डकनले पाँच वर्षको ग्यारेन्टी दिने गरेको छ । ‘कन्ट्र्याक्टमा ११ महिनाभित्र टुटफुट भए मर्मत गर्ने व्यवस्था भए पनि हामी पाँच वर्षसम्म जिम्मेवारी लिन्छौँ,’ गट्टानीले भने ।
उद्योगले उत्पादन गरेको पेभर्स प्रयोग गरिएको सडक पाँच वर्षभित्र कतै टुटफुट भए खबर पाउनासाथ कर्मचारी पठाएर मर्मत गरिने दाबी उनी गर्छन् ।
उद्योगका अर्का सञ्चालक प्रदीप अग्रवालका अनुसार, एनएसका १० वटा स्ट्यान्डर्ड पूरा गरेर उत्पादन गरिएका पेभर्सले ८० टनसम्म भारवहन क्षमता राख्छन् ।
‘हाल ४०–५० टनसम्मका गाडी चलिरहेका छन्, तर भविष्यमा अझ भारी गाडी गुड्ने सम्भावनालाई मध्यनजर गर्दै हामीले ८० टन क्षमताको पेभर्स उत्पादन गरेका हौँ,’ उनी भन्छन् ।
एनएस स्ट्यान्डर्डअनुसार पेभर्समा २० वर्षे वारेन्टी अनिवार्य हुने भएकाले उद्योगले उपभोक्तालाई पाँच वर्षको ग्यारेन्टी दिएको अग्रवालको भनाइ छ ।
विल्डकनले उत्पादन गरेका पेभर्सको माग क्रमिक रूपमा बढ्दो छ उनी भन्छन् – ‘हामी क्वालिटीयुक्त उत्पादन दिन्छौँ । रुचाउनेले लिन्छन्, नरुचाउनेले लिँदैनन्,। ’
हाल नेपालभर एनएस प्राप्त १२ वटा इन्टरलकिङ टायल्स तथा पेभर्स उद्योग सञ्चालनमा रहेको बताइन्छ । उपभोक्तादेखि आम नागरिकसम्मको साझा चाहना छिटो होइन, विकासमा टिकाउ आवश्यक देखेपछि हामीले यो उद्योग स्थापना गरेका हौं गट्टानीले भने – उपभोक्ता सचेत भएसंगै अहिले पेर्भस प्रयोग गरेर सडक निर्माण गर्ने क्रम बढेको छ ।
गाउँ–गाउँका सडक गुणस्तरीय बन्दै जाँदा स्थानीयको जीवनशैलीमा सहजता थपिएको छ । एनएस मार्क प्राप्त पेभर्सप्रतिको आकर्षण बढ्दै गएको हो ।
प्रतिक्रिया