आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको दोस्रो खेलमा पनि नेपाल पराजित भएको छ। युएईको आईसीसी एकेडेमी मैदानमा भएको खेलमा नेपाल घरेलु टोली युएईसँग ५ विकेटले पराजित भएको हो।
पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा सबै विकेट गुमाउँदै २३३ रन जोड्यो। नेपालको लागि कप्तान रोहित पौडेलले १३० बलमा १०९ रन बनाउँदै शानदार शतक प्रहार गरे। अन्य ब्याट्सम्यानबाट अपेक्षित प्रदर्शन देखिएन — आसिफ शेखले ३५, आरिफ शेखले २७, दीपेन्द्रसिंह ऐरीले २३ रन बनाए भने बाँकी खेलाडीले दोहोरो अंक पार गर्न सकेनन्।
२३४ रनको लक्ष्य पछ्याएको युएईले ४३ ओभर ३ बलमा ५ विकेट गुमाएर लक्ष्य पूरा गर्यो। युएईका आर्यंश शर्माले ९८ बलमा ९८ रन बनाउँदै जितको आधार तयार पारे। उनले १० चौका र ३ छक्का प्रहार गरे। अलिशान सराफुले ४५ र मोहम्मद वासिमले २६ रनको योगदान दिए।
नेपालका बलरमध्ये सन्दीप लामिछानेले २ विकेट, जबकि करण केसी र दीपेन्द्रसिंह ऐरीले एक–एक विकेट लिए।
यसअघि सिरिजको पहिलो खेलमा नेपाल अमेरिकासँग १०६ रनले पराजित भएको थियो।
प्रतिक्रिया