विराटनगर : मोरङको सुन्दरहरैंचा नगरपालिका–१२ खोर्सानेमा मंगलबार साँझ घर निर्माणका क्रममा भएको दुर्घटनामा एक महिलाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।
मोरङ प्रहरीले दिएको जानकारी अनुसार साँझ करिब ५ः२० बजेतिर निर्माणाधीन घरमा मसला बोक्ने याङ्गलको डोरी चुँडिँदा दुर्घटना भएको हो । स्थानीय होमबहादुर कटुवालको घर खड्गबहादुर कार्कीले ठेक्कामा लिएर निर्माण गराइरहेका थिए ।
दुर्घटनामा बेलबारी नगरपालिका–९ डाँगीहाटकी ४८ वर्षीया देवकुमारी राजवंशीको मृत्यु भएको छ । याङ्गलले किचेर गम्भीर घाइते भएकी उनलाई उद्धार गरेर विराटनगरको नोबेल शिक्षण अस्पताल लगिएको थियो । तर साँझ ६ः१० बजेतिर अस्पताल पुर्याउनासाथ चिकित्सकले मृत घोषित गरेको प्रहरीले जनाएको छ ।
त्यस्तै, दुर्घटनामा बेलबारी–९ की ५० वर्षीया डामानी राजवंशी, ४० वर्षीया शर्मीला राजवंशी र ३१ वर्षीया रेनुका राजवंशी घाइते भएका छन् । उनीहरुमध्ये डामानी र शर्मीलाको अवस्था मध्यम रहेको रेनुकाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
मोरङ प्रहरीका प्रवक्ता डीएसपी कोपिला चुँडालका अनुसार लापरबाहीपूर्ण तरिकाले घर निर्माण गर्दा दुर्घटना भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ । इलाका प्रहरी कार्यालय बेलबारीका इन्स्पेक्टर कृष्णबहादुर खत्री नेतृत्वको टोलीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया