काठमाडौँ : आज कालिगडहरूले विश्वकर्माको पूजा आराधना गरी वास्तु दिवस एवं विश्वकर्मा पूजा पर्व मनाउँदै छन् । प्रत्येक वर्ष झैँ कन्या अर्थात् आश्विन सङ्क्रान्तिका दिन विश्वकर्माको विधिपूर्वक पूजा गर्न लागिएको हो ।
विभिन्न कलकारखानामा विश्वकर्मा भगवान्को बालुवाको मूर्ति वा तस्बिरमा विधिपूर्वक पूजा आराधना गरी यो दिवस मनाउने गरिन्छ ।
कलकारखानालाई विशेष रूपमा सजाएर मजदुरलाई सहभागी गराएर यो दिवस मनाइन्छ । बालुवा अन्य चीजबाट बनाइएको विश्वकर्माको मूर्ति बागमती मुहानस्थल सुन्दरीजल वा अन्य शुद्धस्थलमा लगी सेलाउने गरिन्छ । आज पूजा गरी बिहीबारदेखि नदीमा लगी मूर्ति सेलाइन्छ ।
आजका दिन कालिगडले उपयोगमा ल्याउने विभिन्न औजारका सामानमा पूजा आराधना गरेमा धेरै समय टिक्ने, कामका बेलामा नबिग्रने र राम्रो काम गर्न सकिनेलगायत गुण प्राप्त हुने धार्मिक विश्वास छ ।
द्वापर युगमा भगवान् कृष्णलाई राक्षसहरूले दुःख दिएपछि विश्वकर्माले समुद्रको बिचमा ‘भेद द्वारका’ बनाइ लुकाएको धार्मिक विश्वास छ । एकै रातमा समुद्रको बिचमा ‘भेद द्वारका’ को निर्माण गरेकाले विश्वकर्मालाई सफल वास्तुविद्का रूपमा मानी त्यसै समयदेखि पूजा आजा गर्ने परम्परा बसेको धर्मशास्त्रविद् प्रा. तोयराज नेपाल बताउँछन् ।
प्राचीन भारत वर्षका चार दिशाका रक्षक देवतामध्ये द्वारकालाई पश्चिम दिशाको रक्षकका रूपमा मानिन्छ । विश्वकर्माले निर्माण गरेको ‘भेद द्वारका’ अहिले पनि भारतको गुजरात राज्यमा समुद्रको बिचमा रहेको विश्वास गरिन्छ ।
विश्वकर्मालाई वास्तु विद्याका विशिष्ट ज्ञाताका रूपमा मानिन्छ । ‘विश्वकर्मा प्रकाश’ नामक वास्तु शास्त्रको ग्रन्थ उनले नै रचना गरेको विश्वास गरिने वास्तुशास्त्री शिव पोखरेल बताउँछन् ।
यही सम्झनामा नेपालका कालिगडहरूले आज भव्यरुपमा विश्वकर्मा बाबाको पूजा गरी उनको विद्वताको सम्मान गर्छन् । यसो गरेमा आफूमा विश्वकर्माको गुण प्राप्त हुने विश्वास गरिन्छ । यस विश्वासमा आज इन्जिन जडान भएका यन्त्र सवारीसाधनमा समेत पूजा आराधना गरिन्छ ।
वास्तुका शास्त्रका पुस्तकका लेखक एवं अध्येताको सम्झनामा आजको दिनलाई वास्तुविद्हरूले वास्तु दिवसका रूपमा मनाउने गर्छन् ।
पछिल्लो समय नेपालमा वास्तु विद्याको पुनर्जागरण सुरु भएको छ । चार उपवेदमध्येको एक स्थापत्यवेदमा वास्तु शास्त्रकै विषय उल्लेख गरिएको छ । लुप्तप्राय : भएको स्थापत्य वेदमा आधारित सहर एवं आवास निर्माण गर्नेको सङ्ख्या बढ्न थालेको छ । यसैले गर्दा अहिले वास्तु विद्याको महत्त्व बढेको छ ।
प्रतिक्रिया