सुनसरी : सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–३ फूलचौकस्थित पूर्व–पश्चिम राजमार्गमा शुक्रबार बेलुकी दुइटा मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन्।
पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्रदेश १–०२०४९ प ७२०१ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको को ३७ प २२४० नम्बरको मोटरसाइकल आपसमा ठोक्किँदा दुर्घटना भएको हो।
दुर्घटनापछि इटहरी प्रहरी कार्यालय लौकहीका प्रहरी नायब निरीक्षक अशोक कोइरालाको नेतृत्वमा पुगेको टोलीले तीन जना घाइतेलाई उपचारका लागि जिल्ला अस्पताल इनरुवामा पुर्याएको थियो। तर,भारत अररिया जिल्लाका १९ वर्षीय मुकेश यादवलाई चिकित्सकले मृत घोषणा गरेका छन्। उनको शव जिल्ला अस्पताल इनरुवामा राखिएको छ।
घाइतेमध्ये सुनसरी कोशी गाउँपालिका–३ पश्चिम कुशाहाका ४० वर्षीय सकुनदेव यादव र वराहक्षेत्र नगरपालिका–११ मधुवनका करिब २५–२६ वर्षीय सन्तोष रजकलाई थप उपचारका लागि विराटनगरस्थित गोल्डेन अस्पताल रेफर गरिएको प्रहरीले जनाएको छ।
दुवैको टाउकोमा चोट लागेका कारण अवस्था गम्भीर रहेको बताइएको छ। दुर्घटनामा संलग्न दुवै मोटरसाइकलका चालक को हुन् भन्नेबारे अहिलेसम्म खुल्न सकेको छैन। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया