काठमाडौं : सामाजिक सञ्जालमा तथ्यहीन अभिव्यक्ति तथा गालीबेइज्जती गरेको आरोपमा ‘युवराज सफल’ भनिने युवराज पौडेललाई प्रहरीले पक्राउ गरेको छ ।
पौडेलले महान्यायाधिवक्ताको कार्यालय र महान्यायाधिवक्तालाई लक्षित गर्दै विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमार्फत नकारात्मक, अपशब्द र गालीगलौजपूर्ण अभिव्यक्ति दिएको आरोप छ ।
महान्यायाधिवक्ताको कार्यालय र कार्यालय प्रमुखविरुद्ध तथ्यहीन अभिव्यक्ति दिइएको भन्दै माघ ८ गते महान्यायाधिवक्ताको कार्यालयले आवश्यक कानुनी कारबाहीका लागि प्रहरीलाई पत्र पठाएको थियो ।
पत्र प्राप्त भएपछि पनि पौडेलले महान्यायाधिवक्ता र कार्यालयबारे आधारहीन आरोप लगाउँदै भिडियो सामग्री तयार गरी सामाजिक सञ्जालमा पोस्ट गरेको देखिएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो ।
पक्राउपछि पौडेललाई काठमाडौं जिल्ला अदालतमा पेश गरिएको थियो । अदालतबाट तीन दिनको म्याद थप गरी घटनाबारे थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया