सुन्दरहरैंचा : स्वर्गीय यमबुद्धको स्मृतिमा अनाथ, असहाय तथा पढाइबाट वञ्चित विद्यार्थीहरूको भविष्य उज्यालो बनाउने उद्देश्यसहित“यमबुद्ध छात्रवृत्ति कोष” स्थापना गर्न मोरङ क्षेत्र नं.३ का पूर्व माननीय डा.सुनिल शर्माले १० लाख सहयोग प्रदान गरेका छन् ।
यम बुद्ध फाउन्डेसनद्वारा मोरङ जिल्लाको सुकुना बहुमुखी क्याम्पसमा आयोजित “Tribute to Yama Buddha” कार्यक्रमअन्तर्गत सञ्चालन गरिएको अभियानमा उक्त सहयोग प्रदान गरिएको हो । फाउन्डेसनका अनुसार सो अक्षयकोष सुकुना बहुमुखी क्याम्पसमा स्थापना गरिनेछ ।
यसैगरी फाउन्डेसनको सिफारिसमा नोबेल मेडिकल कलेजबाट ५ जनालाई १०० प्रतिशत निःशुल्क उपचार तथा ५० जनालाई ५० प्रतिशत छुटमा उपचार, त्यस्तै काठमाडौं मेडिकल कलेजबाट १० जनालाई १०० प्रतिशत निःशुल्क उपचार र ५० जनालाई ५० प्रतिशत छुटमा उपचार उपलब्ध गराइने घोषणा गरिएको छ । यो जानकारी नेपाल विद्यार्थी संघ, सुकुना बहुमुखी क्याम्पस इकाई समितिले जनाएको छ ।
यसअनुसार कुल १५ जनाले पूर्ण निःशुल्क उपचार तथा १०० जनाले ५० प्रतिशत छुटमा उपचार पाउने भएका छन् । शिक्षा र स्वास्थ्यलाई एकसाथ जोडेर गरिएको यो सहयोगलाई मानवीय र ऐतिहासिक कदमका रूपमा लिइएको छ ।
शिक्षा, स्वास्थ्य तथा समाजसेवाको क्षेत्रमा निरन्तर योगदान गर्दै आएका डा.सुनिल शर्माको यो प्रेरणादायी सहयोगले अनगिन्ती विद्यार्थी तथा परिवारहरूको जीवनमा आशा र भरोसाको उज्यालो ल्याउने अपेक्षा गरिएको छ ।
डा.शर्मा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार रहेका छन् । उनी निर्वाचन क्षेत्रमा दैनिक भेटघाट र जनसम्पर्कमा व्यस्त छन् ।
प्रतिक्रिया