विराटनगर: विराटनगर जुनियर जेसीजको आयोजनामा सञ्चालन भइरहेको ३० औँ संस्करणको जेसीज टेस्टी टेस्टी हाजिरी–जवाफ प्रतियोगिता अन्तर्गत विभिन्न चरणका खेल सम्पन्न हुँदै ६ वटा विद्यालय फाइनल चरणमा प्रवेश गरेका छन्।
विराटनगरस्थित वीरेन्द्र सभागृहमा आयोजना भइरहेको प्रतियोगिताको पहिलो खेलमा बुढानिलकण्ठ स्कुल, मोरङ पब्लिक स्कुल, पाथीभरा स्कुल इटहरी, बिकेभिएम स्कुल, आरम्भ स्कुल र जेसी बाल सदन विराटनगरबीच प्रतिस्पर्धा भएको थियो। उक्त खेलमा बिकेभिएम स्कुल प्रथम र आरम्भ स्कुल रामधुनी द्वितीय हुँदै फाइनल चरणमा पुगेका छन्।
त्यसैगरी, दोस्रो दिनको पहिलो खेलमा एजेलिया स्कुल, एभरेस्ट बोर्डिङ स्कुल, जनता माध्यमिक विद्यालय, शिक्षादीप स्कुल, मोडर्न एरा स्कुल र अरनिको स्कुलबीच प्रतिस्पर्धा भएको थियो। प्रतियोगितामा एभरेस्ट बोर्डिङ स्कुल प्रथम र श्री जनता माध्यमिक विद्यालय द्वितीय हुँदै फाइनलमा प्रवेश गरेका छन्।
दोस्रो दिनकै दोस्रो खेलमा सहिद स्मृति स्कुल, पूर्वाञ्चल स्कुल, रमाइलो बाल जगत, ग्रेडेड स्कुल, जेम्स स्कुल र अर्किड स्कुलबीच प्रतिस्पर्धा भएको थियो। यस चरणमा सहिद स्मृति स्कुल प्रथम र पूर्वाञ्चल स्कुल द्वितीय स्थान हासिल गर्दै फाइनल चरणमा पुगेका छन्।
प्रतियोगिताका क्विज मास्टरमा विराटनगर जुनियर जेसीजका संस्थापक अध्यक्ष डा. सन्देश दास श्रेष्ठ तथा पूर्व अध्यक्ष सन्दीप दास श्रेष्ठ रहेका छन्।
कार्यक्रमकी अध्यक्ष तथा विराटनगर जुनियर जेसीजकी अध्यक्ष आयुशा खतिवडाले जेसीज टेस्टी टेस्टी हाजिरी–जवाफ प्रतियोगिताले विद्यार्थीहरूको बौद्धिक क्षमता अभिवृद्धि, आत्मविश्वास विकास तथा स्वस्थ प्रतिस्पर्धात्मक भावना विकास गर्न महत्वपूर्ण योगदान पुर्याउँदै आएको बताइन्। उनले यस्ता शैक्षिक प्रतियोगिताको निरन्तरता आवश्यक रहेकोमा समेत जोड दिइन्।
एउटै आयोजक र एउटै मुख्य प्रायोजकको निरन्तरता रहेको यो प्रतियोगिता विराटनगर मात्र नभई कोशी प्रदेशकै ऐतिहासिक शैक्षिक प्रतियोगिताका रूपमा परिचित छ। काबरा ग्रुपको टेस्टी टेस्टी बिस्कुट मुख्य प्रायोजक रहेकाले प्रतियोगिता लामो समयदेखि “जेसीज टेस्टी टेस्टी हाजिरी–जवाफ प्रतियोगिता” को नामबाट सञ्चालन हुँदै आएको छ।
प्रतियोगिताको फाइनल खेल मङ्गलबार आयोजना हुने आयोजकले जनाएको छ।
प्रतिक्रिया