बिराटनगर : नेपाल वित्तीय संस्था कर्मचारी सङ्घ, कृषि विकास बैंक लिमिटेड केन्द्रीय समितिको ८ औँ केन्द्रीय परिषद् भेला आजदेखि बिराटनगरमा सुरु हुँदै छ। आयोजकका अनुसार भेलाका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको छ।
कृषि विकास बैंकका कर्मचारीको पेशागत हक–हितका लागि स्थापना गरिएको संघको परिषद् भेलामा देशका ७७ वटै जिल्लाबाट प्रतिनिधि तथा पर्यवेक्षकहरू सहभागी हुनेछन्।
संघका महासचिव रमेश कटवालका अनुसार हरेक दुई वर्षमा आयोजना हुने परिषद् भेलामा कर्मचारीका हक–हित, वित्तीय सुशासन, संस्थागत विधान तथा नीतिगत विषयमा विस्तृत छलफल हुनेछ।
दुई दिने परिषद् भेला बिराटनगरको कञ्चनजंगा पार्टी प्यालेसमा आयोजना भइरहेको छ, जसको उद्घाटन नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङले गर्नेछन्।
उद्घाटन सत्रमा नेपाली काँग्रेस कोशी प्रदेशका सभापति उद्धव थापा, पूर्व मुख्यमन्त्री केदार कार्की, मोरङ जिल्ला सभापति डिकबहादुर लिम्बु तथा पूर्व केन्द्रीय सदस्य गुरु घिमिरेलगायत नेताहरूको उपस्थिति रहने महासचिव रमेश कटवालले जानकारी दिए।
महाधिवेशनमार्फत गत दुई वर्षको कार्यसम्बन्धी समीक्षा, विधान संशोधन, नीतिगत तथा सङ्गठनात्मक निर्णयलगायतका महत्त्वपूर्ण एजेन्डामाथि गहन छलफल हुने सङ्घले जनाएको छ। भेलामा ७७ वटै जिल्लाबाट करिब ८ सय प्रतिनिधि सहभागी हुनेछन्।
संघको बन्द–सत्रमा जिल्ला अध्यक्ष, सचिवदेखि लिएर प्रदेश सचिवसम्कासम्मका पदाधिकारीहरूले भाग लिने व्यवस्था गरिएको छ।
प्रतिक्रिया