प्रभु बैंकमा 'स्क्यान्डल' : व्यवस्थापनको संरक्षणमा ग्राहक ठग्दै बैंकका कर्मचारी

विहीबार, ११ मंसिर २०८२

झापा :  प्रभु बैंक लिमिटेडका दुई शाखामा कर्मचारीले करोडौँ रुपैयाँ अपचलन गरेको घटनाले बैंकिङ क्षेत्रमै ठूलो तरङ्ग सिर्जना गरेको छ । 

बैंकिङ क्षेत्रमा यस्तो दोहोरो अपचलन घटना दुर्लभ भए पनि यसको प्रकृति र व्यवस्थापनको प्रतिक्रियाले धेरै प्रश्नहरू खडा गरेको छ । बैंकले ग्राहकको निक्षेप रकम सुरक्षित राख्ने संवेदनशील जिम्मेवारी बोक्छ । 

तर, प्रभुका फरक फरक दुई वटा शाखामा कार्यरत कर्मचारीले अपचलन गरेको घटना सार्वजनिक भइसक्दा समेत घटनालाई गुपचुप राख्ने प्रयासमा बैंक रहनुले कर्मचारीको संरक्षणमा व्यवस्थापनका उच्च पदस्थ व्यक्ति संलग्न रहेको पाइएको छ । जसले बैंकको आन्तरिक नियन्त्रण प्रणाली र व्यवस्थापनको पारदर्शितामाथि नै शङ्का पैदा गरेको छ ।

घटना नम्बर १ : २०८१ साउन १७ गते बिर्तामोड शाखामा कार्यरत अपरेसन इन्चार्ज प्रमोद सिटौलाले करोडौँ रुपैयाँ अपचलन गरेर फरार भएको घटना सार्वजनिक भयो । 

पत्रकारसमेत रहेका टीकाराम नेपाल ‘नेती’ ले प्रभु बैंकको बिर्तामोड शाखामा एक करोड रुपैयाँ जम्मा गरेको तर, बैंकमा भने उक्त रकम नभएको भन्दै शाखाका अपरेसन इन्चार्ज सिटौलाले आफ्नो रकम हिनामिना गरेको आरोप लगाउँदै पत्रकार सम्मेलन गरेका थिए । 

नेती निकट समूहले प्रभुको बिर्तामोड शाखामा विरोध जनाउँदै प्रदर्शन समेत गरेको थियो । घटना सार्वजनिक भए लगत्तै जिल्ला प्रहरी कार्यालय झापाले अनुसन्धानलाई अगाडि बढाएको थियो । तर, बैंक र पीडित भनिएका नेतीले आवश्यक प्रमाण जुटाउन नसक्दा प्रहरीले अनुसन्धानलाई तीव्रता दिन सकेन । 

तर, बैंकले गरेको प्रारम्भिक अनुसन्धान अनुसार बैंकको आन्तरिक लेखापरिक्षण विभागले सिटौलाले गरेको अपचलनको विवरण केन्द्रीय कार्यालयमा बुझाए पनि उच्च व्यवस्थापनले तत्काल कारबाही नगरेको स्रोतको दाबी छ । उच्च तहकै संरक्षणका कारण सिटौला विरुद्ध बैंकले प्रहरीमा जाहेरी दिनसमेत आनाकानी गरेको बैंक स्रोत बताउँछ ।

सिटौलाले रकम अपचलन गरेको आरोप लगाउँदै पत्रकार नेतीले घटना बाहिर ल्याए लगत्तै सिटौला फरार भएका थिए । फरार भएका सिटौला भारतमा रहेको आशङ्का गरिए पनि उनको खोजी कार्यमा प्रहरी र बैंकले चासो नदिनुले घटनामा बैङ्कका उच्च तहको मिलीभगत रहेको आरोप छ ।

बैङ्कका अपरेसन इन्चार्ज सिटौलालाई जिम्मेवारीबाट हटाइएको बताइए पनि हालसम्म उनलाई बर्खास्त गरिएको छैन । यस घटनाले बैंक व्यवस्थापनमा गम्भीर प्रश्न खडा गरेको छ । 

बैंकमा नेतीले रकम जम्मा नगरेको बैंकले दाबी गरे पनि अधिवक्ता समेत रहेका नेतीका दाजु भद्रप्रसाद नेपाल स्वागतले सामाजिक सञ्जालमा श्रव्यदृष्य सामग्री(भिडियो) मार्फत आफूहरूसँग यथेष्ट प्रमाण रहेको पटक पटक दाबी गरेका थिए । यद्यपि नेपाल परिवारले अहिलेसम्म ती प्रमाण सार्वजनिक गर्न सकेका छैनन् ।

पीडित भनिएका नेतीले श्रीमती मञ्जु नेपालको नाममा रकम जम्मा गरेको भन्दै प्रभू बैंकको भौचर सार्वजनिक गरेका थिए । तर, बैंकले उक्त भौचर आधिकारिक नभएको भन्दै उनको दाबी झुटो भएको बताएको थियो । 

प्रभु बैङ्कका कोशी प्रदेश प्रमुख बद्री बहादुर कटुवालले नेतीको दाबी गलत भएको भन्दै घटनाका विषयमा छानबिन गर्ने बताए पनि त्यसपछि उनी मैन रहेका थिए । 

घटना नम्बर २ : २०८० माघ २१ गते प्रभु बैंक लिमिटेड आठबिसकोट शाखामा पनि शाखा अपरेसन इन्चार्ज नीरजविक्रम शाहले १ करोड ३५ लाख अपचलन गरेका थिए । घटना सार्वजनिक भएपछि  बैंकले आन्तरिक छानबिन सुरु गरेको थियो ।

शाह भारतको गोवाबाट २०८० चैत्र ९ गते पक्राउ परेका थिए । नेपाल प्रहरीले उनलाई नेपाल ल्याएपछि सो घटनामा उनी जेल चलान भएका थिए । यो घटना तत्काल नियन्त्रणमा आए पनि बैंकको विश्वास र ग्राहकको सुरक्षामा सवालमा प्रश्न उठेको छ । 

बैंकमा साधारणता सबै कारोबार अपरेसन इन्चार्जले जाँच गर्छन् । त्यसपछि अन्तिम स्वीकृति शाखा प्रबन्धकले दिन्छन् । तर, बिर्तामोड घटनामा लाखौँ रुपैयाँ बिना जाँच भुक्तानी भए पनि शाखा प्रबन्धक मौन रहनुले घटनामा उच्च तहको संलग्नता रहेको बैङ्किङ  क्षेत्रका जानकारहरू बताउँछन् । 

माथि उल्लेखित दुई घटना मध्ये बिर्तामोडमा भएको घटनाको समयमा शाखा प्रबन्धक उपेन्द्र नेपाल थिए । उनी केन्द्रीय कार्यालयको ऋण प्रशासनिक विभागका प्रमुख रहँदा नियम विपरीत ऋण प्रवाहको दबाब आएको थियो ।

उनलाई बिर्तामोड शाखामा सरुवा गर्नु अप्रत्यक्ष दण्ड स्वरूप भएको अनुमान गरिन्छ । यस्ता घटनाले कर्मचारी र व्यवस्थापनको निकट सम्बन्धले अपचलनलाई सहज बनाएको पाइएको छ । 

सिटौलासँग शाखा प्रबन्धक नेपालको निकटता प्रकट रूपमा देखिन्थ्यो । उनीहरू प्रायः सँगै घुम्ने, होटलमा भेट्ने र साँझको समयमा मदिरा सेवन गर्ने जस्ता कार्य गर्दै आएको बैंक निकट कर्मचारी बताउँछन् । यस्तो निकटता र व्यवस्थापनको संरक्षणले सिटौलालाई अपचलन गर्न सहज भएको उनीहरूको दाबी छ । 

बिर्तामोड घटनामा प्रमुख बजार व्यवस्थापक रश्मी पन्तको भूमिका पनि शङ्कास्पद रहेको थियो । बैंकले आफ्नो व्यापार विस्तारका लागि अरबीट एजुकेसन कन्सल्टेन्सीसँग सम्झौता गरेको थियो । कन्सल्टेन्सीले विद्यार्थीलाई ऋण उपलब्ध गराउने र सेवा शुल्कको हिस्सा पाउने व्यवस्था थियो ।

यस प्रक्रियाले बिर्तामोड शाखाका कर्मचारी र सिटौलालाई अपचलन गर्न अवसर दिएको देखिन्छ । प्रारम्भिक अनुसन्धान अनुसार प्रमुख बजार व्यवस्थापक  पन्तले सिटौलाको गतिविधिमा प्रत्यक्ष वा अप्रत्यक्ष संरक्षण गरेको दाबी छ । 

सिटौलाले शाखा कर्मचारीहरूसँग मिलेर फर्जी खाताहरू खोलेर, कन्सल्टेन्सीसँगको लेनदेनमा अनियमितता गर्दा बैंकको आन्तरिक नियन्त्रण कमजोर भएको स्रोतको दाबी छ । यस्ता घटनामा  उच्च व्यवस्थापनको संरक्षण र नियमन प्रणालीको कमजोरीले अपचलनलाई सघाउ पु¥याएको वित्तीय क्षेत्रका जानकारहरूले बताएका छन् । 

सिटौला र पत्रकार नेतीले कन्सल्टेन्सीबाट विदेश जाने विद्यार्थीलाई रकम जम्मा गरेर मोटो रकम असुल्ने गरेको अनुसन्धानका क्रममा फेला परेको छ । उनीहरूले बैंकका उच्च तहका कर्मचारीका साथै व्यवस्थापनसम्म रकम पु¥याउने गरेका कारण पनि यो घटनालाई बैंकले बाहिर ल्याउन नचाहेको खुलेको छ । सिटौला र नेतीले नेपालमा प्रतिबन्धित अनलाइन सट्टे वाजी वान एक्स बीट समेत खेल्ने गरेको स्रोतको दाबी छ । 

कन्सल्टेन्सी मिलेर सेवा शुल्कको आधा अर्थात् ०.७५ प्रतिशत सेवा शुल्कको आधा सेवा शुल्क ०.३७५ प्रतिशत बैंक कन्सल्टेन्सीले लिने भनेर काम गर्ने गरेको खुलेको छ । तर, उनीहरूले रकम जम्मा गरेबापत प्रति लाख एक रातको १० हजार रुपैयाँ लिने गरेका थिए । उक्त रकम नै आफूले जम्मा गरेको नेतीले दाबी गरेको स्रोतले जानकारी दिएको छ । 

करोडौँ रुपैयाँ बैंकले हिनामिना गरेको दाबी गर्ने पत्रकार नेतीले आफ्नो आम्दानीको स्रोत खुलाउन नसकेको प्रहरीले जनाएको छ । उनले उक्त रकमको स्रोत खुलाउन नसक्दा बैंक विरुद्ध किटानी जाहेरी दिन आनाकानी गरेको प्रहरी स्रोतले जानकारी दिएको छ ।

बैंकिङ प्रणाली र आन्तरिक नियन्त्रणमा कमजोरी

माथि उल्लेखित घटनाहरूले बैंकिङ प्रणालीमा देखिएको केही कमजोरीहरू उजागर गरेको छ । अपर्याप्त निगरानी, शाखा प्रबन्धक र उच्च व्यवस्थापनको सक्रिय निगरानी अभावले अपचलनको सम्भावना बढाएको हो । 

व्यक्तिगत सम्बन्ध र निकटताका कारण अपरेसन इञ्चार्ज र शाखा प्रबन्धकबिचको निकट सम्बन्धले अनियमित कारोबार गर्न सजिलो बनाएको देखिएको छ । 

संरक्षणवाद र राजनीतिक प्रभावका कारण  उच्च व्यवस्थापन र संरक्षणवादले अनियमितता रोक्न नसकेको वैकिङ क्षेत्रका जानकारहरूको भनाई छ । बैंकले पारदर्शिता अपनाउन नसक्दा जनविश्वास गुमाउँदै गएको बताइएको छ । लेखा परीक्षणको निष्क्रियताका कारण पनि  आन्तरिक लेखापरिक्षणले विवरण पत्ता लगाएको भए पनि तुरुन्त कारबाही गर्न नसक्नुले नागरिकको निक्षेप सुरक्षामा प्रश्न चिन्ह खडा भएको छ । 

प्रभु बैंक लिमिटेड आठबिसकोट शाखाका  अपरेसन इञ्चार्ज शाहले रकम अपचलन गरेको विषयमा आन्तरिक लेखा परीक्षण विभागले घटनाको प्रतिवेदन वुझाएपनि बैंकका उच्च व्यवस्थापनका कर्मचारी र सञ्चालक मौन रहेका थिए । 

दाबी भुक्तानी नआएसम्म अपचलन गरेको रकम फिर्ता नगर्ने भन्दै उनीहरू बसेका थिए । बैंकका बचतकर्ता अन्जु दर्जी र सरिता चापागाईँले २०८१ साल असोज १४ गते हिनामिना बापतको रकम ४८ लाख ८ हजार ७ सय ७० दशमलव १० पैसा  अन्जु दर्जीलाई र १२ लाख ५० हजार ७ सय ९१ दशमलव ८० पैसा सरिता चापागाईँलाई भुक्तानी दिइसकेको बैंकका आन्तरिक लेखा परीक्षण विभागका कर्मचारीले नाम नबताउने सर्तमा जानकारी दिएका छन् । 

उनका अनुसार करिब ६ करोडको हाराहारीमा आर्थिक अपचलन भएको प्रारम्भिक अनुसन्धानबाट पत्ता लागे पनि यस घटनालाई गुपचुप बनाउन बैंकका उच्च तहका कर्मचारी तथा व्यवस्थापन टिम लागि परेको छ । 

बैंकका प्रमुख कार्यकारी अशोक शेरचनको संरक्षणका कारण बैंकमा बदमासी गर्ने कर्मचारीहरूलाई हालसम्म कारबाही गर्न नसकिएको जनाइएको छ । प्रमुख कार्यकारी शेरचन र प्रमुख बजार व्यवस्थापन पन्तबिचको घनिष्ठताले गर्दा पोल खोलिने डरले बिर्तामोड शाखाका अपरेसन इञ्चार्ज सिटौला जोगिएको बताइएको छ । उनीहरूको निकटताका विषयमा सिटौलालाई सबै जानकारी रहेको र सिटौला पक्राउ परे पोख खुल्न गई आफैँ फसिने डरले घटनालाई गुपचुप बनाउन प्रमुख कार्यकारी शेरचन लागि परेको जनाइएको छ ।

त्यसो त बैंकका पूर्व अध्यक्ष देवीप्रसाद भट्टचन नेपाली कंग्रेस निकट थिए । पछि उनी नेकपा एमाले निकट भए । जसका कारण उनी समानुपातिक संसद् भए । नेकपा एकालेका अध्यक्ष केपी शर्मा ओली निकट भएकै कारण उनी सांसद बने । जसको फाइदा बैंक हुने गरेको अनियमितता ढाकछोपमा सहयोगी बनेको थियो । 

उनले आफू निकट र आफन्तमध्येका अशोक शेरचनलाई प्रमुख कार्यकारी बनाए । उनकै संरक्षणमा बैंकमा हुने अनियमितताको ढाकछोप हुँदै आएको बताइन्छ ।  

प्रहरीले नेकपा एमालेका पूर्वसांसद् भट्टचनलाई बैंक ठगी प्रकरणमा पक्राउ ग¥यो । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले उनलाई ललितपुरबाट पक्राउ गरेको थियो । भट्टचन प्रभु समूहका अध्यक्ष रहेकै बेला पक्राउ परे । 

९८ करोड रुपैयाँ ठगीबारे प्रभु म्यानेजमेन्टकी अध्यक्ष कुसुम लामाले दिएको जाहेरीको विषयमा अनुसन्धान गर्न उनलाई पक्राउ गरिएको थियो । 

भट्टचनविरुद्ध परेको जाहेरी पहिले जिल्ला प्रहरी परिसर, काठमाडौँले दर्ता गर्न मानेको थिएन । पछि पीडित पक्ष जिल्ला सरकारी वकिलको कार्यालयसम्म पुगेको थियो । 

११ असोज २०८१ मा सरकारी वकिलले अनुसन्धान अघि बढाउन भन्दै जाहेरी प्रहरीलाई पठाइदिएको थियो । यद्यपि, प्रक्रिया त्यत्तिकै अड्किएको थियो ।

पछि सीआईबीले त्यही पुरानो घटनाको अनुसन्धानलाई अघि बढाएर उनलाई पक्राउ गरेको थियो ।

प्रतिक्रिया

सुरेन्द्र भण्डारी
लेखकको बारेमा
सुरेन्द्र भण्डारी
जिल्ला संवाददाता

विगत २ दशक अघिदेखि पत्रकारितामा सक्रिय भण्डारी झापामा रहेर प्रदेश खबरका लागि जिल्ला संवाददाताका रूपमा कार्यरत छन ।

सम्बन्धित समाचार