विवाह पञ्चमी महामहोत्सवको आज अन्तिम दिन रामकलेवा सम्पन्न

बुधबार, १० मंसिर २०८२

जनकपुर : विवाह पञ्चमी महामहोत्सवको आज सातौँ तथा अन्तिम दिन जनकपुरधाममा रामकलेवा विधि सम्पन्न भएको छ । सप्ताहव्यापी विवाह पञ्चमी महामहोत्सवमा भगवान् श्रीराम तथा माता सीताका बीचमा शुभविवाह सम्पन्न भएको भोलिपल्ट भारतबाट आएका जन्तिसहितका व्यक्तिहरूलाई रामकलेवास्वरूप भोजन गराउने चलन रहेको छ ।

जनकपुरधामको जानकी मन्दिरको प्राङ्गणमा सम्पन्न भएको रामकलेवामा भारत तथा नेपालका विभिन्न भागबाट आएका साधुसन्त, महन्थ, योगी तथा सन्यासीसहितका जन्तीहरूको सहभागिता थियो ।

रामकलेवामा ५६ प्रकारका व्यञ्जन तयार पारेर भगवान् श्रीरामसहित चारै दुलहा तथा जन्तीहरूलाई खुवाउने चलन रहेको छ । जनकपुरधाममा मङ्सिर ४ गते नगर दर्शनबाट सुरु भएको श्री सीताराम विवाह पञ्चमी महोत्सवको आज अन्तिम दिन रामकलेवासँगै सम्पन्न भएको हो ।

रामकलेवा विधि हेर्नका लागि ठूलो संख्यामा श्रद्धालु भक्तजनहरू जानकी मन्दिर परिसरमा सहभागी थिए । रामकलेवामा मिथिलानीहरूले विभिन्न प्रकारका गीत, सङ्गीत तथा नृत्य प्रदर्शन गरेका थिए । रामकलेवा विधिको समन्वय जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दासले गरेका थिए । 

रामकलेवामा नेपाल सरकारका पूर्वउपप्रधानमन्त्री एवं नेपाली कांग्रेसका नेता विमलेन्द्र निधि पनि सहभागी भएर जन्तीलाई स्वागत सत्कार गरे । 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार