मैत्रीपूर्ण महिला फुटबल : नेपाल इन्डोनेसियासँग पराजित

बुधबार, १० मंसिर २०८२

इन्डोनेसिया : अन्तरराष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलमा नेपाली राष्ट्रिय महिला फुटबल टोली इन्डोनेसियासँग पराजित भएको छ । 

इन्डोनेसियाको योग्यकर्तास्थित मागुवोहर्जो रंगशालामा आज सम्पन्न खेलमा इन्डोनेसियासँग नेपाल २–१ गोलअन्तरले पराजित भएको हो । पहिलो हाफमा बनाएको अग्रतालाई जोगाउन नसक्दा नेपाल पराजित भयो । 

खेलको २०औँ मिनेटमा नेपालले अग्रता लिएको थियो । अनिता बस्नेतको कर्नरमा विमला विकले डिबक्सबाट हेड गरेकी थिइन् । तर इन्डोनेसियाकी भिभी आकताभी रिस्कीले आफ्नै पोष्टमा आत्मघाती गोल गरेकी थिइन् । खेलको पहिलो हाफमा अग्रता लिएको नेपाललाई खेलको दोस्रो हाफमा इन्डोनेसियाले दुई गोल गर्दै पराजित गरेको हो । 

खेलको ५८औँ मिनेटमा इन्डोनेसियाकी कप्तान गिया युमन्दाले गोल गर्दै खेललाई एक÷एक गोलको बराबरीमा ल्याइन् । ६७औँ मिनेटमा औलिया अरिफाले गोल गर्दै आफ्नो टोलीको जीत सुनिश्चित गरिन् । उक्त प्रतियोगितामा नेपाली टोलीकी कप्तान सावित्रा भण्डारी (साम्बा) भने चोटका कारण उपस्थित थिइनन् ।

पछिल्लो पटक नेपालले इन्डोनेसियालाई पराजित गरेको थियो । सन् २०१९ मा म्यानमारको मण्डलेमा सम्पन्न एएफसी ओलम्पिक छनोटको दोस्रो चरणमा नेपाली टोलीसँग भेट भएको थियो । त्यतिबेला नेपालले इन्डोनेसियालाई २–१ गोलअन्तरले पराजित गरेको थियो । 

यसैगरी सन् १९८९ मा एएफसी वुमेन्स च्याम्पियनसिपमा इन्डोनेसियाले नेपाललाई ८–० गोलअन्तरले पराजित गरेको थियो । नेपालले अब यही मङ्सिर १६ गते चाइनिज ताइपेइसँग प्रतिस्पर्धा गर्नेछ । 

प्रतिक्रिया

रासस
लेखकको बारेमा
रासस

नेपालको राष्ट्रिय समाचार समिति (रासस) नेपाल सरकारअन्तर्गतको आधिकारिक समाचार एजेन्सी हो । यसको स्थापना वि.सं. २०१८ सालमा (सन् १९६१) भएको हो । राससको मुख्य उद्देश्य राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचार संकलन, सम्पादन र वितरण गर्ने हो ।

सम्बन्धित समाचार