विराटनगर : मोरङको रंगेलीमा हुलाकी राजमार्गमा भएको मोटरसाइकल दुर्घटनामा एक युवकको ज्यान गएको छ भने उनकी पत्नी घाइते भएकी छन् ।
हुलाकी राजमार्गको रंगेली नगरपालिका वडा नम्बर २ चेकापुल खण्डमा मोटरसाइकल आफैं अनियन्त्रित भएर दुर्घटना हुँदा रंगेली नगरपालिका वडा नम्बर ५ का रामनारायण महतोको मृत्यु भएको हो ।
प्रहरीका अनुसार को ३० प ३९१५ नम्बरको मोटरसाइकल दिउँसो करिब १ः२५ बजेको समयमा सडकमा पल्टिँदा चालक र पछाडि सवार दुवै जना घाइते भएका थिए । गम्भीर घाइते भएका चालकलाई तत्काल उपचारका लागि रंगेली अस्पताल पु¥याइए पनि चिकित्सकले उनलाई मृत घोषणा गरेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी हरिनन्दन चौधरीले जानकारी दिए । दुर्घटनामा मृत्यु भएका महतोको उनको टाउको र शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको समेत प्रहरीले जनाएको छ ।
दुर्घटनामा मोटरसाइकलको पछाडि सवार उनकी पत्नी ३० वर्षीया द्रौपति महतो घाइते भएकी छन् । उनको रंगेली अस्पतालमै उपचार भइरहेको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
प्रारम्भिक अनुसन्धानबाट मोटरसाइकल चालकले मादक पदार्थ सेवन (मापसे) गरेको खुलेको प्रहरीको भनाइ छ । मापसे गरी तीव्र गतिमा मोटरसाइकल चलाउँदा सन्तुलन गुमाएर दुर्घटना भएको प्रहरीको प्रारम्भिक निष्कर्ष छ । घटनाबारे थप अनुसन्धान भइरहेको मोरङ प्रहरीले जनाएको छ ।
प्रतिक्रिया