खोटाङ : खोटाङमा बिहेको भोज खाएकाहरू बिरामी परेका छन्। जन्तेढुंगा गाउँपालिका–६ दिप्लुङमा बिहे भोज खाएका करिब एक सय पचास बढि बिरामी परेका हुन्। भोज खाएपछि ‘फुड पोइजनिङ’ भएको आशंका गरिएको छ।
बिरामी परेका स्थानीयको उपचारका लागि दिप्लुङकै निगालावास भञ्ज्याङ निवासी रामकुमार राईको घरमा शिविर सञ्चालन गरिएको गाउँपालिका उपाध्यक्ष खेम खड्काले बताए।
माघ २१ गते विवाह भोज खाएका स्थानीयवासी माघ २२ गते बेलुकादेखि बिरामी पर्न थालेका हुन्। भोज खाएको करिब १२ घण्टापछि ज्वरो आउने, काम्ने र झाडापखाला लाग्ने समस्या देखिएको छ। बेहुला–बेहुलीसमेत बिरामी परेका छन्।
बिरामीको उपचारका लागि गाउँपालिकाको स्वास्थ्य शाखाको आरआरटी टोली, स्वास्थ्य कार्यालय र जनप्रतिनिधिहरू खटिएका छन्। बिरामीको चाप बढेपछि स्वास्थ्य कार्यालयबाट औषधिसहित थप जनशक्ति पनि मगाइएको उपाध्यक्ष खड्काले बताए।
उपचारको माग गर्दै बिरामी सम्पर्कमा आउन थालेपछि गाउँपालिकाले माघ २३ गतेदेखि निगालावास भञ्ज्याङमा भेला गराएर उपचारको व्यवस्था मिलाएको हो। गाउँपालिकाका अनुसार भोज खाएका अधिकांश स्थानीय बिरामी परेका छन्।
बिरामीमध्ये केहीको अवस्था गम्भीर रहेको छ। स्वास्थ्य समस्या भएका स्थानीय उपचारका लागि आउने–जाने क्रम अझै जारी छ। धेरैजसो बिरामी उपचारपछि घर फर्किएका छन् भने हाल ३५ जनालाई स्लाइनपानी, जीवनजललगायत औषधि दिएर उपचार भइरहेको छ।
उपाध्यक्ष खड्काका अनुसार भोज खाएर फर्किएका उदयपुर, काठमाडौंलगायतका पाहुनासमेत बिरामी परेको खबर आएको छ।
‘फुड पोइजनिङ’को कारण पत्ता लगाउन प्रदेशबाट नमूना (स्याम्पल) संकलन गर्न टोली मगाइएको स्वास्थ्य कार्यालय खोटाङका प्रमुख कुलबहादुर पौडेलले बताए।
प्रतिक्रिया