बुढी खोलाको पुलमुनि तेल उद्योगका मजदुर मृत फेला

सोमबार, २२ मंसिर २०८२
Filephoto

विराटनगर । मोरङ र सुनसरीको सिमाना भएर बग्ने बुढी खोलाको पुलमुनि सोमबार बिहान तेल उद्योगमा काम गर्ने एक जना मजदुर मृत फेला परेका छन् । 

मोरङ प्रहरी प्रवक्ता डीएसपी हरिनन्दन चौधरीका अनुसार बुढीगंगा गाउँपालिका–५ स्थित बुढी खोलामाथि निर्माणाधीन नयाँ पक्की पुल र पुरानो पुलको बीच भागमा घोप्टो परेको अवस्थामा शव फेला परेको हो । शव देख्ने बित्तिकै स्थानीयले बिहान ८ बजेतिर प्रहरीलाई खबर गरेका थिए ।

मृत्यु हुने व्यक्ति भारतको कोलकाता घर भई विगत १० देखि १५ वर्षयता बुढीगंगा–५ मै बस्दै आएका करिब ५० वर्षीय मोहमद अली अन्सारी रहेको प्रहरीले जनाएको छ । उनी सोही वडास्थित स्वस्तिक तेल फ्याक्ट्रीमा काम गर्ने मजदुर हुन् । लामो समयदेखि उद्योगमा काम गर्दै आएका अन्सारी सामान्य प्रकृतिका व्यक्ति रहेको र परिवारसहित सोही क्षेत्रमा बस्दै आएको प्रहरीको भनाइ छ । 

शव फेला परेको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय मोरङबाट इन्स्पेक्टर लेखनाथ दाहाल नेतृत्वको टोली घटनास्थल पुगेको थियो । प्रहरी टोलीले प्रारम्भिक कानुनी प्रक्रिया पूरा गरेर शवलाई पोस्टमार्टमका लागि विराटनगरस्थित कोशी अस्पताल पठाएको छ । 

प्रहरीका अनुसार शवको पहिचान मृतककी पत्नी कुर्नी खातुनले गरेकी छन् । अन्सारीको मृत्युको ठोस कारण अझै खुल्न सकेको छैन । डीएसपी चौधरीका अनुसार प्रारम्भिक रूपमा अन्सारी मादक पदार्थ सेवन गरेर हिँड्ने क्रममा पुलबाट खसेको हुनसक्ने आशंका गरिएको छ । 

तर, हालसम्म मृत्युको यकिन कारण पत्ता लागेको छैन । ‘घटनाको सबै कोणबाट अनुसन्धान भइरहेको छ । मृत्युको वास्तविक कारण पोस्टमार्टम रिपोर्ट आएपछि र थप अनुसन्धानपछि मात्र खुल्छ,’ डीएसपी चौधरीले भने । 

उनका अनुसार घटनास्थलको आसपासमा रहेका स्थानीय बासिन्दा र उद्योगका सहकर्मीहरूसँग समेत सोधपुछ भइरहेको छ । उद्योगमा काम गर्ने सहकर्मीहरूले अन्सारी नियमित रूपमा काममा आउने र ठूलो विवादमा नपरेको व्यक्ति भएको बताएका छन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार