'तपाईँहरूको सम्पत्ति र बुद्धि मिलेन' भन्दै नेपालीको ३० करोड रुपैयाँ बढी ठगी

सोमबार, २२ मंसिर २०८२

पाँचथर । थोरै लगानी र धेरै सदस्य बनाउँदा धेरै कमाइने लोभमा परेर एसएमसी नामक मोवाइल एपमा जोडिएका पाँचथरका मानिसहरु पछिल्लो समयमा आफुहरु ठगीएको गुनासो गर्न थालेका छन । 

नेपालबाट गरिबी उन्मूलन गर्ने भन्दै स्मार्ट मनी कन्सेफ्ट (एसएमसी) नामको एप्लिकेसनमार्फत गरिएको प्रचारबाट लोभिएर लगानी गर्ने पाँचथरको सदरमुकाम फिदिम नगरपालिका र फालेलुङ गाउँपालिका क्षेत्रका मानिसहरुबाट मात्रै ६ महिनायता झन्डै ३० करोड रुपैयाँ बढी ठगी भएको पाइएको हो  ।

सहज कमाइ हुने  प्रलोभन देखाउँदै एसएमसी नामक मोबाइल एपमार्फत पाँचथर र आसपासका जिल्लामा सयौं व्यक्तिबाट करोडौं रुपैयाँ संकलन गरी सो एप निस्कृय बनाइएपछि आफुहरु ठगीको पाँचथर लगायतका ठाँउका मानिसहरुले थाहा पाएका छन । सुरुमा आकर्षक प्रतिफल देखाएर सदस्य बनाइने र थप सदस्य जोड्न प्रोत्साहन गरिने यो एपले छ महिनामा झन्डै ३० करोड रुपैयाँभन्दा बढी पाँचथरबाट मात्र ठगी गरेको अनुमान गरिएको छ । 

फिदिम नगरपालिका वडा नम्बर ४ का राजु खतिवडालाई झापाको बिर्तामोडमा रहेका आफन्तले थोरै लगानी गर्दा राम्रै आम्दानी हुने भन्दै एउटा अनलाइन एप्लिकेसनमा जोडिन आग्रह गरे । सो एप मार्फत सुरुमा दैनिक खातामा पैसा जम्मा गरिदिएर आकर्षित गर्दै आफूबाट पनि एक लाख बढी रकम ठगेको खतिवडाले बताए । ‘नेपालमा चरम गरिबी छ यसलाई जरैदेखि निर्मूल पार्नुपर्छ, त्यसका लागि थोरै लगानी गरेर राम्रो रिर्टन लिन सकिन्छ भनेर झुक्काए, होला नि त भनेर आबद्व भई साथीभाइलाई पनि जोडेँ अन्त्यमा ठगीमा परियो,’ खतिवडाले भने । उनका अनुसार यसमा आबद्ध हुन एक व्यक्तिले न्यूनतम ३ हजारदेखि अधिकतम तीन लाख रुपैयाँसम्म लगानी गर्ने सक्ने प्रावधान थियो । एड्मिनहरूले जति धेरै लगानी उतिधेरै प्रतिफल भन्दै नागरिकलाई नेटवर्कमा आबद्व गराउँथे । 

लगानी गर्नासाथ एडमिनले दैनिक भिडियो पठाउने र भिडियो हेरेबापत एप्लिकेसनमा कनेक्ट भएको बैंक खातामा प्रति भिडियो २० देखि १ सय ९० रुपैयाँसम्म भुक्तानी दिन्थे । आफू सदस्य बनेर अरुलाई जोडेबापत एजेन्टले पाउने बोनस पनि उत्तिकै आकर्षक थियो । जसमा ३३ हजार रुपैयाँ लगानी गरेर नयाँ सदस्य जोडिए तिनलाई जोड्ने एजेन्टले ११ हजार र ३ लाख लगानी बनाउने सदस्य थप्दा १ लाख रुपैयाँ कमिसन दिन्थे ।

आफ्नो नेटवर्कमा जति धेरै सदस्य थप्यो उनीहरूले जम्मा गरेको रकमको निश्चित प्रतिशत कमिसन उपलब्ध गराउने प्रलोभनमा परेर पाँचथरबाट ६ महिनाको अवधिमा मात्रै झन्डै ५ हजार जनालाई आबद्व गराएको पाइएको छ । उनीहरूबाट झन्डै ३० करोड रुपैयाँ ठगी गरेको हुन सक्ने पीडितहरू सुनाँउछन् ।

एप्लिकेसनका एडमिनले सदस्यहरूलाई क्यूआर पठाएर पैसा हाल्न लगाउने गरेका थिए । क्यूआर स्क्यान गर्दा नेपालीहरूकै नाम र ठेगानासँगै नेपालकै बैंकको विवरण आउने गरेकाले ठगीमा नपर्ने विश्वाससहित लगानी गरेको पिडितहरु सुनाउछन् ।

एउटै वडाबाट ६ करोड ठगी

प्रलोभनमा परेर फालेलुङ गाउँपालिकाबाट मात्रै लगभग २ सय जनाबाट ६ करोडभन्दा बढी ठगिएको पाइएको छ । जहाँका शिक्षक, विद्यार्थी, कर्मचारी, राजनीतिक क्षेत्रका अगुवा र केही सर्वसाधारणसमेत प्रलोभनमा परेर ठगिएका छन् । राम्रो प्रतिफल पाइने आशामा यहाँ एउटै परिवारका दुईदेखि ७ जना सम्मले रकम जम्मा गरेको पाइएको छ ।

‘सबैभन्दा मिल्ने साथीले आग्रह गरेपछि ३३ हजार रुपैयाँ लगानी गरेँ, दैनिक १५ वटा भिडियो आउँथे, ती हेरेबापत प्रतिभिडियो ७६ रुपैयाँका दरले पैसा पाइन्थ्यो, एक महिनासम्म दैनिक पैसा दियो, आफूमूनि नयाँ सदस्य थप्दा लगानीको अवस्था हेरेर बोनस पनि राम्रै दिन्थ्यो,’ फालेलुङ गाउँपालिका वडा नम्बर २ मै व्यवसाय गरिरहेका एक व्यापारीले भने, ‘विश्वास गरेर परिवारका ४ जनाका नाममा १ लाख १० हजार रुपैयाँका दरले लगानी थप्यौं, नियम परिवर्तन भएको भन्दै अब मासिक रुपमा मात्रै भुक्तानी आउँछ भनियो, पछिल्लो समय एप्लिकेसन निष्क्रिया बनाएर एडमिनहरू सम्पर्कविहीन छन् ।’

एसएमसी समूहका एडमिनहरू

एप्लिकेसनको एडमिनमा विदेशी जस्तो नाम सुनिने लुसी, कोइवे र अन्ना नामकासहित केही नेपाली पनि सक्रिय थिए । उनीहरूले प्रयोग गरेको ह्वाट्सएपमा क्यानडा र सान फ्रान्सिसकोलगायत देशका नम्बर राखिएको थियो । अनलाइन गर्नेको सूचीमा एडमिन रहेकी लुसी नामकी महिलाले कात्तिक ३० गते ह्वाट्सएप ग्रुपमा अन्तिम सन्देश लेख्दै लगानीकर्तालाई उल्टै व्यंग्य गर्दै एप्लिकेसन निष्क्रिय गरेकी छन् ।

‘सबैलाई नमस्कार, म तपाईंहरूको भर्ती प्रबन्धक हुँ, हरेकको बुद्धि र उसको सम्पत्ति एक अर्कासँग मिल्छ तर तपाईंहरूको सम्पत्ति र बुद्धि मिलेन, त्यसैले म तपाईंहरूलाई मिलाइदिन चाहन्छु, म त तपाईंहरूको बुद्धिसँग नबज्ने र तपाईंहरूको हुन नहुने सम्पत्ति मात्र लिएकी हुँ, म आशा गर्छु कि तपाईंहरूले मलाई धन्यवाद दिनुहुनेछ, कृतज्ञता प्रकट गर्नुहुनेछ र मैले दिएको यो पाठ तपाईंहरूले जीवनभर सम्झनु हुनेछ’ उनले लेखेकी छन् ।

उनले यो सन्देश लेखे लगत्तै कात्तिक २९ गतेदेखि एसएमसी वालेट निष्क्रिय भएको छ । एडमिन प्यानलमा देखिएका नेपालीहरूलाई म्यासेज गर्दा रेस्पोन्स आउन छोडेको छ । ‘कानुनी प्रक्रियामा जाने कुरा गर्दा जतिसुकै मिहनेत गरे पनि केही नलाग्ने जवाफ मात्रै फर्काउँछन्,’ ठगीमा परेकाहरू भन्छन् ।

news photo (22)

ठगी गर्ने एसएमसीका सञ्चालकहरूले सार्वजनिक गरेका वेबसाइट एसएमसीसीओयुएस ९९ डटकम र एसएमसीसीओयुएस ७९ डटकमका डोमेन करिब ६ महिनाअघि मात्रै दर्ता भएको देखिन्छ । उनीहरूले भुक्तानी गर्न भन्दै सदस्यलाई पठाएका क्यूआरमा प्रत्येक पटक फरक फरक नाम आउँथ्यो । 

उनीहरुले पठाएको क्युआरमा पैसा पठाउनेहरु विभिन्न बहानामा ठगिएको समेत सुनाउछन । कोही उपहार पाइने लोभमा ठगिएका छन् । उपहार परेको भन्दै त्यस वापतको लाग्ने कर पठाउन भन्दै उल्टै पैसा लग्ने काम गरेर आफुहरुलाई ठगि गरेको उनीहरु सुनाउछन । 

यो एप्लिकेसनबाट ठगीमा परेकाहरुको अहिलेसम्म उजुरी नआएको पाँचथरका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक अनिशकुमार कर्णले बताउछन ।  ‘हाम्रो नोटिसमा डिजिटल एपमार्फत ठूलो परिमाणको रकम अवैध रुपमा भुक्तानी भएको छ, तर कोही पनि उजुरी लिएर आउनु भएको छैन, गैरकानुनी कारोबारमा संलग्न भएका कारण आफैंमा अप्ठेरो भएर पनि उजुरी नआएको हुन सक्छ,’ प्रहरी नायव उपरीक्षक कर्णले भने । 

एसएमसी ठगीको जालोमा सर्वसाधारण, व्यापारी, कर्मचारी, जनप्रतिनिधि हुँदै बैंकर र विभिन्न व्यापारिक प्रतिष्ठानका मार्केटिङमा काम गर्ने मानिस सर्वाधिक संख्यामा फेसको प्रहरीको अनुमान छ । सबै सर्वसाधारणले क्यूआर गरेको पैसा व्यक्तिकै खातामा गएको देखिएकाले यो कोणबाट अनुसन्धान गर्न सकिने कर्णले जानकारी गराए  । 

नेपाल प्रहरीको साइबर ब्युरोले कात्तिक २९ गते सार्वजनिक सूचना जारी गर्दै एसएमसी एपमार्फत छिटो पैसा कमाउन सकिने प्रलोभन देखाएर ठगी गर्ने समूह सक्रिय रहेको भन्दै सचेत रहन सार्वजनिक सूचना जारी ग¥यो । तर साइबर ब्युरोको यो सूचना सार्वजनिक भइसक्दा धेरै मानिसहरु ठगिमा परिसकेका थिए भने एसएमसीको वालेट पनि निष्क्रिय भइसकेको थियो ।

प्रतिक्रिया

लक्ष्मी गौतम
लेखकको बारेमा
लक्ष्मी गौतम
जिल्ला संवाददाता

लेखक ३ दशक अघिदेखि पाँचथर जिल्लामा रहेर सक्रिय रूपमा कलम चलाउँदै आउनुभएको छ ।

सम्बन्धित समाचार