झापा । विभिन्न मुद्दामा अदालतले सजाय तोकेर पनि फरार रहेका तीन जना प्रतिवादी झापाबाट पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको फैसला कार्यान्वयन टोलीले उनीहरूलाई आफ्नै घर–वतनबाट पक्राउ गरी झापा जिल्ला अदालतमा उपस्थित गराएको थियो । अदालतमा पेस भएपछि सबैले तोकिएको जरिवाना बुझाएर छुटेका छन्।
प्रहरीका अनुसार पक्राउ परेका मध्ये अर्जुनधारा–११ का २२ वर्षीय रोहन तामाङलाई जिल्ला अदालतले माघ १४ गते लागूऔषध मुद्दामा २०० रुपैयाँ जरिवाना तोकेको थियो। फैसला कार्यान्वयनदेखि उनी फरार थिए।
त्यसैगरी, कनकाई नगरपालिका–४ का ४६ वर्षीय मानबहादुर विश्वकर्मालाई अदालतले जेठ २० गते बालबालिका विरुद्धको कसूर मुद्दामा तीन महिना कैद र पाँच हजार रुपैयाँ जरिवाना तोकेको थियो। फरार रहेका उनलाई प्रहरीले घरमै पक्राउ गरेको हो।
उता संखुवासभा मकालु–३ का ३६ वर्षीय देवराज तामाङ नकबजनी चोरी मुद्दामा दोषी ठहरिएका थिए । २०७८ मंसीर २५ को फैसलाले एक हजार रुपैयाँ जरिवाना तोकिएको थियो। भद्रपुर कारागारमै रहेका उनीसँग सम्बन्धित मुद्दाको लागत कट्टा बाँकी रहेकाले उनलाई समेत प्रक्रियाका लागि अदालतमा पेस गरिएको प्रहरीले जनाएको छ।
फैसला कार्यान्वयनका क्रममा प्रहरीले फरार प्रतिवादी सतर्कतापूर्वक पक्राउ गरी प्रक्रिया अगाडि बढाइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
प्रतिक्रिया