विराटनगर : सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स मोरंग (सिडेन) को अध्यक्षमा शुभाषिश लाला कोइराला निर्विरोध चयन भएका छन्।
शनिबार विराटनगरमा सम्पन्न सिडेन मोरंगको पहिलो अधिवेशनले कोइरालालाई अध्यक्षमा चयन गरेको सिडेनका कोशी प्रदेश अध्यक्ष भरत न्यौपानेले जानकारी दिए।
न्यौपानेका अनुसार कोइरालाको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति गठन गरिएको छ। समितिको उपाध्यक्षमा श्याम नारायण यादव, सचिवमा मदन सिंह र कोषाध्यक्षमा प्रतिक्षा कोइराला निर्विरोध चयन भएका छन्।
त्यसैगरी सदस्यहरूमा मनमोहन पंजियार, अमनकुमार राई, रविप्रवेश सिंह, राजन चौधरी र आकाश साह चयन भएका छन्।
नवगठित कार्यसमितिको दुई वर्षे कार्यकाल रहनेछ। अध्यक्ष कोइरालाले यस अवधिमा सिडेन मोरंगका आवश्यकीय तथा संस्थागत कामलाई प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे। उनले मोरंग जिल्लाको विकास र पूर्वाधार निर्माणमा सिडेनमार्फत ठोस योगदान पुर्याउने लक्ष्य रहेको बताए।
भारतको बेंगलोरबाट कम्प्युटर साइन्समा इन्जिनियरिङ अध्ययन गरेका कोइराला मुलुकको खेलकुद क्षेत्रमा पनि परिचित व्यक्ति हुन्। उनी विराट सिटी फुटबल क्लबका मालिक हुन् भने पछिल्लो समय जाम्बुरे नेक्सस लञ्जमा आवद्ध रहँदै आएका छन्। नेपाल सुपर लिगको पहिलो संस्करणमा विराट सिटी फुटबल क्लबले उल्लेखनीय प्रदर्शन गरेको थियो।
प्रतिक्रिया