खोटाङ : खोटाङको वराहपोखरी गाउँपालिका–५ पौवासेरा र उदयपुरको चौदण्डीगढी नगरपालिका–१ चौदण्डीस्थित सुनकोशी नदीको बंशिलाघाटमा बेलिब्रिज सञ्चालनमा आएको छ। बेलिब्रिज जडान सम्पन्न भएसँगै शनिबारदेखि सवारीसाधनको आवतजावत सुरु भएको छ।
कोशी प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयले आर्थिक वर्ष २०८१/०८२ मा एक करोड ८७ लाख रुपैयाँमा खरिद गरी पूर्वाधार विकास कार्यालय खोटाङलाई हस्तान्तरण गरेको बेलिब्रिज गुरुकुल बिल्डर्स एण्ड सप्लायर्स प्रालि, रौतहटले जडान गरेको हो। कम्पनीले मूल्य अभिवृद्धि करसहित ५७ लाख रुपैयाँमा बेलिब्रिज जडान कार्य सम्पन्न गरेको जनाएको छ।
प्रालिका अनुसार सुनकोशी नदीमा पानीको बहाव बढ्ने जेठको पहिलो सातामा सोही बजेटमा बेलिब्रिज खोल्ने गरी सम्झौता गरिएको छ।
पुसको पहिलो सातासम्म बेलिब्रिज जडान गरिसक्ने लक्ष्य रहे पनि उदयपुरतर्फको साइडमा देखिएको विवादका कारण करिब एक महिना ढिला गरी काम सुरु भएको थियो। ५१.८१ मिटर लम्बाइ र ४.१ मिटर चौडाइको सिंगल लेन बेलिब्रिज सञ्चालनमा आएपछि जन्तेढुंगा गाउँपालिका, वराहपोखरी गाउँपालिका, खोटेहाङ गाउँपालिका तथा भोजपुर जिल्लाका केही वडाका बासिन्दालाई तराईसँग सिधा यातायात सुविधा उपलब्ध भएको छ।
बेलिब्रिजको उद्घाटन कोशी प्रदेशका पूर्व भौतिक पूर्वाधार विकास तथा स्वास्थ्य मन्त्री भुपेन्द्र राईले गर्नुभएको हो। बेलिब्रिज सञ्चालनसँगै दक्षिणी भेगका नागरिकले पहिलो पटक कोशी नदीमाथिबाट सवारीसाधनमा यात्रा गर्न पाएका छन्।
यसअघि सुनकोशीस्थित बंशिलाघाटमा संघीय सरकारले पक्की पुलको ठेक्का लगाए पनि निर्माण व्यवसायीले काम नगर्दा पुल अलपत्र अवस्थामा थियो। पक्की पुल र बेलिब्रिज नहुँदा स्थानीयवासी झोलुङ्गे पुल प्रयोग गरेर नदी वारपार गर्न बाध्य थिए। दैनिक उपभोग्य सामग्री तथा मालसामान महँगो भाडा तिरेर मानिसमार्फत झोलुङ्गे पुलबाट ओसारपसार गर्नुपर्ने अवस्था थियो।
प्रतिक्रिया