रामधुनीमा गोली हानेर सफारी चालकको हत्या गरेको आरोपमा सात जना पक्राउ

सोमबार, २२ मंसिर २०८२
तस्बिर : फाइल

इटहरी । सुनसरीको रामधुनी नगरपालिका–२ मा गोली हानेर सीटी सफारी चालकको हत्या गरिएको घटनामा संलग्न भएको आरोपमा प्रहरीले ७ जनालाई पक्राउ गरेको छ । 

प्र–१–०२–००४ ह ७८०४ नम्बरको सफारीका चालक ४५ वर्षीय दिनेशकुमार चौधरीको असोज २५ गते साँझ हत्या भएको थियो । मोटरसाइकलमा आएका अज्ञात व्यक्तिहरु गोली हानेर फरार भएका थिए । 

आफ्नो सफारी लिएर उत्तरबाट दक्षिणतर्फ जाँदै गर्दा चौधरीमाथि गोली प्रहार भएको थियो । बायाँ छातीमा गोली लागेको र शरीरबाट अत्यधिक रगत बगेको घाइते अवस्थामा भेटिएका उनको उपचारका क्रममा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको थियो । 

उक्त घटनामा संलग्न ७ जनालाई पक्राउ गरिएको सुनसरी प्रहरीका प्रवक्ता डीएसपी चन्द्रबहादुर खड्काले बताए । उनका अनुसार घटनामा संलग्नलाई सुनसरी र सप्तरीका विभिन्न स्थानबाट पक्राउ गरिएको हो । 

प्रहरीले पत्रकार सम्मेलन गरेर घटनाको विस्तृत विवरण सार्वजनिक गर्दैछ । चौधरीको हत्या किन गरिएको हो भन्ने बारेमा यकिन भइनसकेको र थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार