तन्त्रमन्त्र गरेर परिवारलाई दुःख दिएको भन्दै सुनसरीमा गोली हानेर सिटी चालकको हत्या, ७ जना पक्राउ

सोमबार, २२ मंसिर २०८२

धरान :सुनसरी प्रहरीले सिटी सफारी चालक हत्या प्रकरणमा सात जनालाई पक्राउ गरेको छ। 

गत असोज २५ गते रामधुनी नगरपालिका–२, कर्मनिया टोलस्थित भित्री सडक खण्डमा सिटी सफारी चालक दिनेश कुमार चौधरीको गोली हानी हत्या गरिएको घटनामा संलग्न उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले आज पत्रकार सम्मेलन गरी जानकारी दिएको हो।

पक्राउ पर्नेमा रामधुनी–१ का ४३ वर्षीय राजेश उर्फ राज किशोर साह, ४० वर्षीय नन्द किशोर साह, सप्तरी राजविराज–१६ का २८ वर्षीय अङ्कित साह, २८ वर्षीय प्रिन्स कुमार दास, भोक्राहा नरसिंह–५ का ३४ वर्षीय मोहम्मद इब्रान मिया, देवानगन्ज–४ का ३७ वर्षीय गियास मन्सुरी र देवानगन्ज–५ का २५ वर्षीय मिथिलेश यादव रहेका छन्।

कार्यालयका प्रमुख केशवकुमार थेबाका अनुसार असोज २५ गते साँझ करिब ५ः२० बजे प्रदेश १–०२–००४ ह ७८०४ नम्बरको सिटी सफारी चालक, रामधुनी–२ का ४५ वर्षीय चौधरीलाई अपरिचित व्यक्तिहरूले गोली हानी हत्या गरेका थिए। सो घटना अनुसन्धानका लागि छुट्टै टोली गठन गरी प्राविधिक तथ्य, स्थानीयवासी तथा परिवारको बयानका आधारमा प्रहरीले अनुसन्धान अघि बढाएको थियो।

प्रारम्भिक अनुसन्धानमा मृतक  चौधरीले तन्त्रमन्त्र गरी परिवारजनलाई लामो समयदेखि दुःख दिँदै आएको कारण योजनाबद्ध रूपमा हत्या गरिएको देखिएको प्रमुख थेबेले जानकारी दिए। सोही योजनाअनुसार रकम लेनदेन गरी समूहगत रूपमा गोली प्रहार गराइएको प्रहरीको भनाइ छ।

पक्राउ परेकाहरूले प्रारम्भिक सोधपुछमा घटनामा संलग्नता स्वीकार गरेको प्रहरीले जनाएको छ। उनीहरू विरुद्ध कर्तव्य ज्यान मुद्दामा कारबाही अघि बढाइएको छ। सुनसरी जिल्ला अदालतबाट यही मङ्सिर १७ गतेदेखि १२ दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

यो पनि - रामधुनीमा गोली हानेर सफारी चालकको हत्या गरेको आरोपमा सात जना पक्राउ

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार