काठमाडौँ : मेडिकल व्यवसायी तथा “राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान” का संयोजक दुर्गा प्रसाईँ दुई दिन हिरासतमा बसेपछि हाजिर जमानीमा रिहा भएका छन्।
प्रहरीले शुक्रवार उनलाई चाल्नाखेलबाट पक्राउ गरी काठमाडौँ जिल्ला अदालतमा पेश गरेको थियो। अदालतले निर्वाचन आचारसंहिता उल्लङ्घन सम्बन्धी आरोपमा अनुसन्धान जारी रहने गरी उनलाई हाजिर जमानीमा रिहा गर्न आदेश दिएको साइबर ब्युरोका एसपी दीपकराज अवस्थीले जानकारी दिए।
प्रसाईँमाथि निर्वाचनबारे सार्वजनिक अभिव्यक्ति दिँदा आचारसंहिता उल्लङ्घन गरेको आरोप लगाइएको छ। पक्राउ पर्नुअघि उनले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेको सुरक्षा निकायले जनाएको छ।
माघ २२ गते भक्तपुरमा भएको उक्त भेटपछि प्रसाईँ वीरगन्जतर्फ कार्यक्रम गर्न जाने तयारीमा रहेको र आगामी फागुन २१ मा हुने निर्वाचन प्रभावित पार्ने गतिविधि सुरु गर्ने सुराकका आधारमा प्रहरीले निर्णय गरेको एक उच्च सुरक्षा अधिकारीले बताएका छन्।
एमाले अध्यक्ष ओली झापा–५ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार हुन्। सो क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहसँग उनको प्रतिस्पर्धा हुँदैछ। प्रहरीले भने प्रसाईँको अभिव्यक्ति र गतिविधिबारे थप अनुसन्धान जारी रहने जनाएको छ।
प्रतिक्रिया