आईसीसी टी–२० विश्वकप–२०२६ को पहिलो खेलमा नेपालले इंग्ल्यान्डसँग चार रनको झिनो हार बेहोरेको छ ।
इंग्ल्यान्डले दिएको १८५ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १८० रन मात्र बनाउन सक्यो । अन्तिम ओभरमा जितका लागि १० रन आवश्यक हुँदा सेट ब्याटर लोकेश बम क्रिजमा रहे पनि नेपालले लक्ष्य भेट्न सकेन ।
लक्ष्य पछ्याउने क्रममा कुशल भुर्तेल र आसिफ शेखले नेपाललाई राम्रो सुरुवात दिलाएका थिए । तर चौथो ओभरमा आसिफ शेख आउट भएपछि छैटौँ ओभरमै कुशल भुर्तेल पनि आउट भए । भुर्तेलले १७ बलमा ४ चौका र १ छक्कासहित २९ रन बनाए ।
त्यसपछि कप्तान रोहित पौडेल र उपकप्तान दीपेन्द्र सिंह ऐरीले इनिङ्स सम्हाले । उनीहरूबीच तेस्रो विकेटका लागि ८२ रनको महत्वपूर्ण साझेदारी भयो, जसले इंग्ल्यान्डलाई केही समय दबाबमा राख्यो ।
तर १५औँ ओभरमा दीपेन्द्रलाई साम करनले आउट गरेपछि नेपालले तेस्रो विकेट गुमायो । दीपेन्द्रले २९ बलमा ६ चौका र १ छक्कासहित ४४ रन जोडे ।
लगत्तै कप्तान रोहित पनि ३९ रनमा आउट भए । उनले ३४ बलमा २ चौका र १ छक्का प्रहार गरे । आरिफ शेखले ८ बलमा १० रन बनाए ।
विष्फोटक ब्याटिङ गरेका लोकेश बमले २० बलमा ३९ रन बनाउँदा पनि हार रोक्न सकेनन् । नेपालका लागि गुल्सन झा र करण केशीले पनि समान एक एक रन जोडे ।
इंग्ल्यान्डका लागि लियम डसनले २ विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले २० ओभरमा ७ विकेट गुमाउँदै १८४ रन बनाएको थियो । ज्याकब बेथेलले ३५ बलमा ४ चौका र ४ छक्कासहित सर्वाधिक ५५ रन बनाए । कप्तान ह्यारी ब्रूकले ३२ बलमा ४ चौका र ३ छक्कासहित ५३ रन जोडे । विल ज्याक्सले १८ बलमा अविजित ३९ रन बनाउँदै १ चौका र ४ छक्कासहित आक्रामक फिनिसिङ गरे ।
इंग्ल्यान्डले सुरुवातमै झट्का खाएको थियो । ओपनर फिल साल्टलाई डेब्युटान्ट शेर मल्लले आफ्नो पहिलो बलमै आउट गरेका थिए । ५७–३ को नाजुक अवस्थामा बेथेल र कप्तान ब्रूकले चौथो विकेटका लागि ७१ रनको साझेदारी गर्दै इनिङ्स सम्हाले ।
बलिङतर्फ नेपालका लागि दीपेन्द्र सिंह ऐरी र नन्दन यादवले २–२ विकेट लिए भने डेब्युटान्ट शेर मल्ल र सन्दीप लामिछानेले समान १–१ विकेट हात पारे ।
प्रतिक्रिया