जेनजी आन्दोलनपछि कोशी प्रदेशसभाको पहिलो बैठक : एमाले–नेकपाबीच आरोप–प्रत्यारोप, कांग्रेस सन्तुलित

आइतबार, २५ माघ २०८२

विराटनगर : लामो समयदेखि निष्क्रिय रहेको कोशी प्रदेशसभाको हिउँदे अधिवेशन आइतबारदेखि सुरु भएको छ । जेनजी आन्दोलनपछि उत्पन्न राजनीतिक तथा सामाजिक तरंगका कारण प्रदेशसभाको दोस्रो कार्यकालको आठौँ अधिवेशन सुरु हुन सकेको थिएन ।

जेनजी आन्दोलनको आवरणमा भदौ २४ गते आगजनी र तोडफोड हुँदा प्रदेशसभा भवन ध्वस्त भएपछि बैठक बस्न नसकेको हो । प्रदेशसभा भवनको पुनर्निर्माण सम्पन्न नभएकाले अधिवेशन विराटनगरस्थित वीरेन्द्र सभागृहमा सञ्चालन गरिएको छ ।

अधिवेशनको पहिलो दिन नै सुशासन, पछिल्लो राजनीतिक घटनाक्रम र राज्यको भूमिकालाई लिएर सत्तापक्ष र प्रतिपक्षबीच कडा बहस देखिएको छ । पहिलो बैठकमै सत्तारुढ नेकपा (एमाले) र प्रमुख प्रतिपक्षी नेकपा बीच आरोप–प्रत्यारोप चल्यो भने सत्तारुढ नेपाली कांग्रेस सन्तुलित र मध्यम धारमा प्रस्तुत भएको देखियो ।

बैठकको प्रारम्भमा सभामुख अम्बरबहादुर विष्टले जेनजी आन्दोलनका क्रममा भएको मानवीय तथा भौतिक क्षति र ऐतिहासिक सम्पदामा परेको असरप्रति गहिरो दुःख व्यक्त गरे । उनले राज्य सञ्चालनको केन्द्रमा सुशासन, पारदर्शिता र भ्रष्टाचार नियन्त्रण हुनुपर्ने उल्लेख गर्दै राजनीतिक दलहरू जनभावनाप्रति संवेदनशील हुनुपर्ने धारणा राखे ।

सभामुख विष्टले अस्थिर राजनीति र आरोप–प्रत्यारोपले जनविश्वास कमजोर बनाउने खतरा औँल्याउँदै संवाद र सहकार्यको बाटो रोज्न आग्रह गरे ।

प्रदेशसभा बैठकमा प्रमुख प्रतिपक्षी नेकपाका संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले सरकारको कार्यशैलीमाथि कडा आलोचना गरे । विगतका कमजोरी ढाकछोप गरेर अघि बढ्ने समय सकिएको भन्दै उनले जिम्मेवारी स्वीकार नगरे जनआक्रोश नियन्त्रण बाहिर जाने चेतावनी दिए ।

पछिल्लो आन्दोलनका क्रममा बालबालिकासहित ७६ जनाको मृत्यु र ८४ अर्ब रुपैयाँभन्दा बढीको भौतिक क्षति हुनु राज्यको असफलता र सत्तासीन दलको दम्भको परिणाम भएको उनको आरोप थियो । सिंहदरबार र संसद् भवन नै असुरक्षित बन्नु गम्भीर विषय भएको उल्लेख गर्दै दुई ठूला दलको अहंकारले लोकतान्त्रिक व्यवस्था संकटतर्फ धकेलिएको दाबी गरे ।

साथै, उनले प्रदेश सरकारका मन्त्रालयमा भएका आर्थिक अनियमितता र विवादित निर्णयबारे मुख्यमन्त्रीको स्पष्ट जवाफ मागे ।

प्रतिपक्षको आरोपको जवाफ दिँदै एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बोले पछिल्लो घटनाक्रमलाई आन्तरिक असन्तुष्टिका रूपमा मात्र हेर्न नहुने बताए । मुलुकमा बाह्य शक्तिको चलखेल बढ्दै गएको दाबी गर्दै नेपाललाई अस्थिर बनाउने षड्यन्त्र भइरहेको उनको भनाइ थियो ।

‘नेपाललाई युक्रेनजस्तै बनाउने प्रयास भइरहेको छ,’ भन्दै उनले राष्ट्रियतामाथि खतरा बढेका बेला कांग्रेस–एमाले सहकार्य अपरिहार्य भएको तर्क गरे । उनले विदेशी शक्तिको गतिविधि र अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा आएका विश्लेषणलाई संकेत गर्दै राष्ट्रिय एकता कमजोर पार्ने गतिविधि स्वीकार्य नहुने चेतावनी दिए ।

एमाले र नेकपाबीचको तीव्र वाक्युद्धका बीच कांग्रेस संसदीय दलका नेता उद्धव थापाले संयम अपनाउन आग्रह गरे । उनले संवादमार्फत समाधान खोज्नुपर्नेमा जोड दिँदै सुशासनका सवालमा प्रतिपक्षले उठाएका जायज प्रश्नलाई सरकारले गम्भीरतापूर्वक लिनुपर्ने बताए । साथै, विकास र जनहितका विषयमा प्रतिपक्षले पनि रचनात्मक भूमिका खेल्नुपर्ने उनको धारणा थियो ।

राजनीतिक अन्योलका कारण जनतामा निराशा बढेको उल्लेख गर्दै उनले सहमति र समझदारीकै माध्यमबाट मुलुकलाई निकास दिन सकिने बताए ।

बैठकमा राप्रपाका नेता प्रेमराज थाम्सुहाङले फरक धार प्रस्तुत गरे । वर्तमान व्यवस्थाप्रति बढ्दो वितृष्णाकै कारण सडक आन्दोलन चर्किएको दाबी गर्दै उनले साझा अभिभावकका रूपमा राजसंस्थाको आवश्यकता औँल्याए । राजा, दल र जेनजी पुस्तालाई समेट्ने राष्ट्रिय एकताको नयाँ ढाँचा खोज्नुपर्ने उनको सुझाव थियो ।

त्यसैगरी राष्ट्रियसभा निर्वाचनका क्रममा आफू काठमाडौंमा रहँदा पनि आफ्नो नामबाट मतदान भएको भन्दै उनले गम्भीर आपत्ति जनाए । एउटा पदका लागि यस्तो हर्कत हुनु गलत भएको उनको टिप्पणी थियो ।

अधिवेशनमा माओवादी केन्द्र र एकीकृत समाजवादी मिलेर बनेको नयाँ दल नेकपाको औपचारिक जानकारी गराइएको थियो । जसपा नेपालले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको सूचना पनि सभामा सुनाइयो । साथै, राप्रपाका सांसद भक्तिप्रसाद सिटौलाको राजीनामा स्वीकृत हुनुका साथै मन्त्रिपरिषद् विस्तारसम्बन्धी पत्र वाचन गरिएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार