काठमाडौँ : आउँदो शनिवारबाट सुरु हुन लागेको नेकपा एमालेको राष्ट्रिय महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल प्यानल बनाएरै आमनेसामने हुने भएका छन्। दुवै नेताले अध्यक्षदेखि सदस्यसम्म आफ्नो प्यानल बनाएर प्रतिस्पर्धाको तयारी गरेपछि एमाले वृत्तमा तीव्र ध्रुवीकरण देखिएको छ।
देशभरका महाधिवेशन प्रतिनिधि गणना गरिसकेका ओली पक्षका नेता आफ्नो समूहको सहज जित हुनेमा ढुक्क देखिन्छन्। तर पार्टीमा नेतृत्व परिवर्तनको आवाज बोक्दै अघि बढेको पोखरेल पक्षले सोमबारदेखि आफ्नो प्रचार आक्रामक बनाएको छ। यसले आफ्नो पक्षमा माहौल बन्ने उनीहरूको विश्वास छ।
मङ्सिर २७–२९ सम्म चल्ने महाधिवेशनका व्यवस्थापकीय तयारी करिब अन्तिम चरणमा पुगेको विभिन्न विषयगत तयारी समितिले बताएका छन्। नेतृत्व छनोट मुख्य एजेन्डा रहेको महाधिवेशनका लागि देशभरबाट २३ सय महाधिवेशन प्रतिनिधि छनोट भइसकेका छन्।
त्यस्तै, आयोजक समिति, पर्यवेक्षकसहित गरी करिब २६ सयको उपस्थितिमा महाधिवेशन सम्पन्न हुने एमाले स्थायी कमिटी सदस्य लालबाबु पण्डितले जानकारी दिए। ओली पक्षमा सक्रिय पण्डितले अहिले नेतृत्व परिवर्तनको आवश्यकता नरहेको दाबी गरे। उनले भने, ‘यो देशमा निडर व्यक्ति केपी ओली नै हुन्। त्यसकारण अहिले एमाले नेतृत्वमा ओलीकै आवश्यकता छ।’
वर्तमान नेतृत्वको विकल्पसहित पार्टी रूपान्तरण अभियान चलाइरहेको ईश्वर समूहले सोमबार पत्रकारसँग छुट्टै अन्तरक्रिया कार्यक्रम गरेको छ। सो कार्यक्रममा वरिष्ठ उपाध्यक्ष पोखरेलसहित उपाध्यक्ष सुरेन्द्र पाण्डे, युवराज ज्ञवाली, सचिव योगेश भट्टराईलगायतका नेता सहभागी थिए।
दुवै पक्षका नेताहरूले आफ्ना नेताको तस्वीरसहितका पोस्टर व्यापक रूपमा सार्वजनिक गरिरहेका छन्। सोमबार नै पोखरेल पक्षले आगामी महाधिवेशनमा समावेश गर्न बनाइएको पार्टी सुधार सम्बन्धी ४० पेजको प्रस्ताव महासचिव शङ्कर पोखरेलमार्फत दर्ता गरायो। उक्त प्रस्ताव प्रति ओली पक्षले खासै चासो नदेखाएको बताइएको छ।
महाधिवेशनका लागि फरक दस्ताबेज दर्ता गरेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले एमाले जनताको बिचमा साँघुरिँदै र खुम्चिँदै गएको भन्दै वर्तमान नेतृत्वको विकल्पसहित सङ्गठन रूपान्तरण आवश्यक भएको बताए। उनले भने, ‘लोकतान्त्रिक इतिहास बोकेको एमाले आज व्यक्तिवादी बनेको छ, जसले पार्टी जनताबिच खुम्चिने अवस्था बनाइरहेछ।’
एमालेमा नयाँ पुस्ताले चुनाव नहुने, प्रतिस्पर्धा गर्न नपाइने, माथिबाटै लिस्ट पेस हुने अवस्था देखिएको प्रति पाण्डेले चिन्ता व्यक्त गरे। उनले देशभरका २३ सय बढी प्रतिनिधिलाई मत बदलेर नेतृत्व परिवर्तनका पक्षमा उभिन आह्वान गरे। ‘माथिबाट लिस्ट पेस गर्ने प्रणाली बदल्नुपर्छ,’ उनले भने, ‘त्यसका लागि प्रतिनिधिहरूले पुरानो नेतृत्व परिवर्तन गरेर नयाँ नेतृत्व निर्माणका लागि तयारी देखाउनुपर्छ।’
नेतृत्व परिवर्तन सुनिश्चित गर्न पार्टीमा एक व्यक्ति दुईपटकभन्दा बढी अध्यक्ष हुन नपाउने व्यवस्था कानुनमै राख्नुपर्ने प्रस्ताव पनि उनले प्रस्तुत गरे। ‘यो राजनीतिक र संस्थागत दुवै प्रश्न हो,’ उनले भने, ‘एक व्यक्ति दुईपटकभन्दा बढी अध्यक्ष हुन नपाउने प्रावधान कानुनमै ल्याउनुपर्छ।’
यता ओली पक्षका नेताहरूले भने वर्तमान नेतृत्वकै पक्षमा बहुमत प्रतिनिधि रहेको दाबी गरिरहेका छन्। केन्द्रीय कमिटीका अधिकांश नेता समेत ओली पक्षमा खुलेर सक्रिय भएका छन्।
ईश्वर समूहले आफ्ना एजेन्डा महाधिवेशन प्रतिनिधिसमक्ष पुर्याउन मिडियालाई सक्रिय प्रयोग गरिरहेको छ। ओली समूह भने आफ्नो सहज जितमा ढुक्क देखिन्छ। प्रेस चौतारी नेपालले ओली पक्षमा माहौल निर्माण गर्न निरन्तर पत्रकार सम्मेलनहरू गराइरहेको छ।
एमाले पार्टी कार्यालयमा ओली समूहको बाक्लो उपस्थिति देखिँदा ईश्वर समूह बानेश्वरस्थित सम्पर्क कार्यालयमा कार्यकर्ता भेला गरिरहेको छ। ईश्वर समूहलाई पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको समेत समर्थन रहेको बताइन्छ। त्यस्तै, सो समूहलाई बलियो बनाउन स्थायी कमिटी सदस्य कर्ण थापा सक्रिय रूपमा लागेको स्रोतको दाबी छ।
ओली समूहले यो महाधिवेशनलाई नेतृत्व चयनको महाधिवेशनका रूपमा प्रस्तुत गरिरहेको छ भने इतर समूह नीतिगत बहसमार्फत नेतृत्व छानिनुपर्ने पक्षमा छ। दुवै समूहले आफ्ना टोलीको सूची बनाएर गृहकार्य तीव्र बनाएका छन्।
ओलीले गोप्य रूपमा लिस्ट तयार पारिरहेको बताइँदा पोखरेल समूह ओली पक्षमा नअटाएका नेताहरू आफ्नो पक्षमा आउने आकलनमा छ। नेता व्यवस्थापनमा ओलीलाई देखिएको चुनौतीका कारण असन्तुष्ट नेताहरूलाई आफ्नो पक्षमा तान्दै ओली विरुद्ध सबल प्रतिस्पर्धा गर्ने रणनीति पोखरेल समूहले बनाएको बताइएको छ।
प्रतिक्रिया