झापा : प्रतिनिधि सभा सदस्यका लागि आगामी फागुन २१ मा निर्वाचन हुने मिति घोषणा भए देखि नै झापाको क्षेत्र नम्बर ५ सर्वत्र चासोको विषय बन्न थालेको थियो ।
विघटित सरकारको नेतृत्व गरेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जित्दै आएको यो निर्वाचन क्षेत्रबाट पुनः एमाले अध्यक्ष ओली चुनावी प्रतिस्पर्धामा उत्रने साथै ओलीले नै प्रतिस्पर्धा गर्ने निर्वाचन क्षेत्रबाट आफुले उम्मेदवारी दिने तत्कालिन काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाह बालेनले घोषणा गरेसंगै झापा क्षेत्र नम्बर ५ चासो र चर्चा बढेको हो ।
पार्टी अध्यक्ष ओलीलाई पुनः भावी प्रधानमन्त्रीका रुपमा एमालेले अघि सारेर चुनावी प्रतिस्पर्धामा उत्रारेको छ भने राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले बालेनलाई भावी प्रधानमन्त्रीका रुपमा अघि सार्दै सोही निर्वाचन क्षेत्रबाट उम्मेदवार बनाएको छ ।
भावी प्रधानमन्त्रीका रुपमा अघि सारिएका दुई उम्मेदवारहरु एकै निर्वाचन क्षेत्रबाट चुनावी प्रतिस्पर्धामा रहेका कारण झापा क्षेत्र नम्बर ५ को चर्चा र चासो एकाएक चुलिदै आएको छ ।
जतिजति निर्वाचनको मिति नजिकीदै आएको छ त्यतित्यति नै झापा क्षेत्र नम्बर ५ चर्चाको शिखरमा उक्लदै गइरहेको छ ।
झापा क्षेत्र नम्बर ५ बाट उम्मेदवार बनेका आ आफनो पार्टीले भावी प्रधानमन्त्रीका रुपमा अघि सारिएका ओली र बालेन चुनावी प्रचारप्रसारकै लागि पनि अन्य निर्वाचन क्षेत्रमा पुग्दा समेत झापा क्षेत्र नम्बर ५ जोडेर सञ्चार माध्यमहरुले समाचार बनाउँदै आएका छन् ।
अन्य निर्वाचन क्षेत्रमा पुग्दा समेत ओली र बालेन समाचारका विषय बनेर चर्चा बटुली रहेको समयमा भने झापा क्षेत्र नम्बर ५ बाट ओली र बालेनसंगै चुनावी प्रतिस्पर्धा गर्दै आएका अन्य उम्मेदवारहरु भने आफना चुनावी एजेण्डा बोकेर मतदाताको मन जित्ने अभियानमा सक्रिय रहदै आएका छन्।
चर्चा कम भएपनि आफनो दृण संकल्प सहित चुनावी अभियानमा होमीने उम्मेदवारहरुको चुनावी अभियान झापा क्षेत्र नम्बर ५ मा कम चर्चा योग्य छैन ।
सामाजिक सञ्जालमा र देशभरका मतदाताहरूको ध्यान यही निर्वाचन केन्द्रले तानेको छ । यहाँका मतदाता मात्रै होइन, अन्य निर्वाचन क्षेत्रमा मतदान गर्नेहरुको पनि ध्यान झापा क्षेत्र नम्बर ५ मै केन्द्रीत छ ।
सामाजिक सञ्जालहरु हेर्दा झापा ५ को चुनावी चर्चा देश तथा विदेशमा रहेका नेपालीहरुबीचमा समेत उक्तिकै रहेको पाइन्छ ।
‘हेभिवेट’ भनिएका उम्मेदवार ओली र वालेन अन्य निर्वाचन क्षेत्रहरुमा समेत पुगि रहदा अन्य उम्मेदवारहरु भने स्थानीय स्थानीय स्तरमा पूर्णतया गाउँ–टोल केन्द्रित गतिविधिमा लागिपरेका छन् ।
उनीहरु पार्टीका स्थानीय गतिविधि देखि लिएर भेटघाट, स्थानीय कार्यक्रम र सानो समूहमा मतदातासँग प्रत्यक्ष संवादलाई झापा ५ का अन्य उम्मेदवारहरुले प्राथमिकतामा राख्दै आएका छन्।
नेपाली कांग्रेसबाट उम्मेद्वार बनेकी कांग्रेसकी नेतृ स्थानीय दमक नगरपालिका ९ निवासी मन्धरा चिमरिया पौडेल समाजसेवा र महिला अधिकार क्षेत्रमा परिचित नाम हो । उनी अहिले आफुले गर्दा आएका सामाजिक कार्यहरु साथै भावी योजनाहरु सहित मतदाताहरुसंग पुगिरहेकी छन्।
निर्वाचन नजिकिएसंगै बिहानै घर–घर पुग्ने मन्धरा भोट माग्न मात्र नभएर , संवाद र विश्वास निर्माण गर्न अग्रसर देखिन्छिन् । मतदातासँगको भेटमा उनी महिला, बालबालिका र सामाजिक न्यायका मुद्दा उठाउँछिन् । उनका साथ आमा, दिदी तथा सहकर्मी महिलाहरू पनि सधैं उपस्थित हुन्छन् ।
कांग्रेस उपसभापति विश्वप्रकाश शर्माले पनि उनलाई सशक्त महिला उम्मेदवारको रूपमा प्रस्तुत गर्दै स्थानीय मतदाताले फागुन २१ मा संसदमा पठाउने अपेक्षा व्यक्त गरेका छन् ।
काँग्रेस उम्मेद्वार मन्धरा चुनावी भेटघाटका क्रममा मतदातालाई भन्छिन् – ‘कोक्रो हल्लाउने महिलाले देश पनि हल्लाइरहेका छन्, चलाइरहेका छन् । ’
यता नेपाली कम्युनिष्ट पार्टीका तर्फबाट उम्मेद्वार बनेका रञ्जीत तामाङ, कमल गाउँपालिका वडा नम्बर १ का स्थानीय युवा नेता हुन, उनले चुनावी प्रचारमा साधारण तर प्रभावकारी शैली अपनाएका छन् ।भेट हुने मतदाता सम्बन्धित साथी, परिवार वा विद्यालयका सहपाठी लगायतलाई तामाङले व्यक्तिगत अनुभव र संघर्षलाई जोड दिँदै नाता लगाएर सम्बोधन गर्छन् । उनले प्रतिशोधको राजनीतिले देशको भलो नहुने बताउँदै आफ्नो उम्मेदवारीका विषयमा मतदाताहरुलाई जानकारी गराउदै मत माग्ने गरेका छन्।
विगतमा एमालेसंग यस निर्वाचन क्षेत्रमा चुनावी गठवन्धन गर्दै आएको राष्ट्रिय प्रजातान्त्रिक पार्टी (राप्रपा) ले पनि यस पटकका आफनो उम्मेद्वार बनाएको छ । राप्रपाका उम्मेदवार लक्ष्मीप्रसाद संग्रौलाले पनि आफ्नो चुनावी अभियान अघि बढाइरहेका छन् ।
व्यवसायिक तथा सामाजिक क्षेत्रमा परिचित उनी पार्टी एजेण्डा अनुसार राजसंस्था र हिन्दु राष्ट्र कायम गर्ने उद्देश्य राख्दै मतदाताको घर–घर पुगिरहेका छन् ।
पहिलो पटक चुनावी प्रतिस्पर्धामा उत्रिएको श्रम संस्कृति पार्टीका उम्मेदवार समिर तामाङले पनि स्थानीय स्तरमा गरेको श्रम र सेवा मार्फत प्रचारप्रसार गर्दै आएका छन् । कमल गाउँपालिकाको ढ्यांग्री खोला नजिकैको काठे पूल निर्माणमा सहभागी हुनुले उनलाई प्रत्यक्ष सेवा र श्रममार्फत मतदातासँग जोड्ने अवसर दिएको छ।
झापा निर्वाचन क्षेत्र नम्बर ५ मा को प्रचारप्रसारमा चर्चित उम्मेदवारहरुलाई सञ्चार माध्यमहरुमा आउने समाचारले पनि प्रचारप्रसारमा सघाइरहेको पुर्याईरहेको छ एकातर्फ भने अर्कातर्फ अन्य उम्मेदावाहरु व्यक्तिगत भेटघाट, सामाजिक सेवा र स्थानीय सम्बन्ध निर्माणलाई नै मतदाताको मन र मत जित्ने प्रचारप्रसारका माध्यम बनाउदै आएका छन्।
प्रतिक्रिया