विराटनगर । कोशी प्रदेशका प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक विनोद घिमिरेले जिल्ला प्रहरी कार्यालय मोरङको स्थलगत निरीक्षण गरेका छन् । मोरङको शान्ति सुरक्षाको अवस्था, प्रहरीको दैनिक कार्यसम्पादन र सेवाप्रवाहको अवस्था लगायतका विषय केन्द्रित भएर सोमबार प्रहरी नायव महानिरीक्षक घिमीरेले जिल्ला प्रहरी कार्यालय मोरगंको निरीक्षण गरेका हुन् ।
निरीक्षणका क्रममा घिमिरेले जिल्ला प्रहरी कार्यालय मोरङको भवनसँगै अपराध अनुसन्धान शाखा, प्रशासन, महिला तथा बालबालिका सेवा केन्द्र, गुनासो कक्ष, प्रहरी ब्यारेकलगायतको भौतिक पूर्वाधार, कार्यशैली र अभिलेखीकरणको अवस्था अवलोकन गरेका थिए । प्रहरी नायव महानिरीक्षक घिमीरेले कार्यालयभित्रको रेकर्ड व्यवस्थापन, फाइलिङ प्रणाली, डिजिटल प्रणालीको प्रयोग र सेवाग्राहीसँगको व्यवहारसमेत नजिकबाट नियालेका थिए । निरीक्षणकै क्रममा घिमिरेले मोरङ जिल्ला कोशी प्रदेशको राजधानी रहेको जिल्ला भएकाले यहाँको प्रहरी गतिविधि नमुना बन्नुपर्ने बताएका छन् ।
उनले दैनिक सेवा प्रवाहमा ढिलासुस्ती, लापरबाही वा गैरजिम्मेवारीपन देखिन नहुने भन्दै प्रहरी अधिकृत र जवानलाई स्पष्ट निर्देशन दिए । ‘विराटनगर र मोरङको सुरक्षा सुदृढ भए मात्रै समग्र प्रदेशमा जनआस्थाको वातावरण सिर्जना हुन्छ’ भन्ने धारणा समेत घिमीरेले राखे ।
भारतसँगको खुला सिमानाका कारण मोरङ उच्च जोखिममा रहेको उल्लेख गर्दै घिमिरेले सीमावर्ती क्षेत्रहरूमा कडाइका साथ चेकजाँचको व्यवस्था मिलाउन निर्देशन दिएका छन् । कार्यालयमा सेवा लिन आउने नागरिकलाई प्राथमिकतामा राखेर छिटो, सरल र प्राविधिमैत्री सेवा दिनुपर्नेमा पनि जोड दिएका छन् । नागरिकले प्रहरी कार्यालयलाई भरोसायोग्य संस्था भनेर महसुस गर्नुपर्छ भन्दै उनले नागरिकमैत्री व्यवहारलाई अनिवार्य कार्यसंस्कृतिको रूपमा विकास गर्नुपर्ने बताए । संगठनको उद्देश्य विपरीत काम गर्ने प्रहरीलाई कारबाहीको दायरामा ल्याइने चेतावनीसमेत घिमीरेले दिए ।
निरीक्षणका क्रममा मोरङका प्रहरी प्रमुख एसपी कवित कटवालले जिल्लाको समग्र सुरक्षा अवस्था, अपराधको प्रवृत्ति, चुनौती र हालसम्म भइरहेका पहलहरूको विस्तृत जानकारी घिमिरेलाई गराएका थिए । सो अवसरमा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका एसपी सुमनकुमार तिम्सिना लगायतका प्रहरी अधिकारीहरूको उपस्थिति रहेको थियो ।
घिमीरेको निरीक्षणलाई औपचारिक कार्यक्रमभन्दा पनि प्रहरी संगठनलाई अनुशासित, उत्तरदायी र नागरिकप्रति जवाफदेही बनाउन केन्द्रित प्रयासका रूपमा हेरिएको छ ।
प्रतिक्रिया