विराटनगरमा अन्तर्राष्ट्रियस्तरको विराट ट्रेड एक्स्पो आयोजना  हुने

सोमबार, २२ मंसिर २०८२
मोरगं व्यापार संघको पत्रकार सम्मेलन

विराटनगर :  विराटनगरमा अन्तर्राष्ट्रियस्तरको ‘विराट ट्रेड एक्स्पो–२०२५’ मोरङ व्यापार संघले आयोजना गर्ने भएको छ । विराटनगर महानगरपालिका वडा नम्बर २ शान्ति चोकमा आगामी पुस ९ देखि १९ गतेसम्म ‘विराट ट्रेड एक्स्पो–२०२५ आयोजना गरिने आयोजक मोरगं व्यापार संघले पत्रकार सम्मेलन गरि जानकारी दिएको हो । 

एक्स्पो सञ्चालनका विषयमा जानकारी गराउन आयोजित पत्रकार सम्मेलनमा संघले एक्स्पोको तयारी, उद्देश्य र सम्भावित प्रभावबारे विस्तृतमा जानकारी गराएको छ । 


आर्थिक गतिविधिलाई चलायमान बनाउने, स्वदेशी उत्पादनको प्रवर्धन गर्ने र अन्तर्राष्ट्रिय बजारसँग जोड्ने लक्ष्यसहित एक्स्पो आयोजना गर्न लागिएकोसंघका अध्यक्ष अनुपम राठीले जानकारी गराए । एक्स्पोमा जर्मन प्रविधिबाट तयार गरिएको ह्याङगर संरचनासहित २ सय ३० वटा स्टल रहने अध्यक्ष राठीले वताए । । उनका अनुसार ८० प्रतिशतभन्दा बढी स्टल बुकिङ भइसकेका छन् । 


नेपालका घरेलु, साना, मझौला तथा ठूला उद्योगका उत्पादन, कृषिजन्य वस्तु, औद्योगिक सामग्री, शिक्षा, स्वास्थ्य, सूचना प्रविधि, पर्यटन र सेवा क्षेत्रसँग सम्बन्धित सामग्रीहरू प्रदर्शनीमा रहने जानकारी पत्रकार सम्मेलनमा गराइयो ।  साथै भारत, बंगलादेश, पाकिस्तानलगायत छिमेकी मुलुकका उत्पादन पनि प्रदर्शनीमा राखिनेछ । जसले उत्पादक र उपभोक्ताबीच प्रत्यक्ष भेट गराउन सहयोग पुर्याउने विश्वास गरिएको समेत जनाइयो । 


मोरङ व्यापार संघ विक्रम संवत २००७ सालमा स्थापना भएको मुलुककै जेठो उद्योग–व्यापार सम्बन्धी संस्था मानिन्छ । नेपाल उद्योग वाणिज्य महासंघको संस्थापक सदस्यसमेत रहेको संघले उद्योगी व्यवसायीको हकहित संरक्षण, आर्थिक क्रियाकलापको विविधीकरण र स्वाभिमानी अर्थतन्त्र निर्माणमा निरन्तर योगदान गर्दै आएको इतिहास छ । 


यसअघि संघले कोशी महोत्सव २०५३, पूर्वाञ्चल औद्योगिक व्यापार मेला २०५७, विराट महोत्सव २०६२ र २०७०, विराट ट्रेड एक्स्पो–२०१८ र २०२२ तथा मोरङ व्यापार संघ एक्स्पो–२०२३ सफलतापूर्वक सम्पन्न गरिसकेको छ । यस वर्षको एक्स्पो जेन्जी आन्दोलनपछि देखिएको आर्थिक शिथिलतालाई तोड्दै बजारमा नयाँ ऊर्जा भर्ने उद्देश्यसहित आयोजना गर्न लागिएको दाबी आयोजकको छ ।  

मुलुकको नेपाल व्यापार रणनीतिअन्तर्गत पहिचान गरिएका कोशी प्रदेशका वस्तुहरूको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजार विस्तार, स्वदेशी तथा विदेशी लगानीकर्ताबीच सहकार्य विकास, सुनसरी मोरगं औद्योगिक करिडोरको प्रवर्धन र कोशी पर्यटन वर्ष–२०८२ को प्रचार–प्रसार एक्स्पोका प्रमुख लक्ष्य हुन् । एक्स्पो अवधिभर स्टार्टअप, साना तथा मध्यम उद्यम, पर्यटन, सूचना प्रविधि, साइबर सुरक्षा, कर तथा लेखा प्रणाली र महिला उद्यमशीलतासम्बन्धी विषयमा गोष्ठी तथा छलफल कार्यक्रम आयोजना गरिनेछ । 


एक्स्पोमा  दर्शकलाई मनोरञ्जनका लागि चर्चित राष्ट्रिय कलाकारहरूको प्रस्तुति रहनेछ । मेलामा किड्स जोन, सेल्फी जोन, फिस तथा जलपरी टनेल, मनोरञ्जनात्मक खेलसामग्री र नेपाली कलाकृतिमा आधारित आकर्षक प्रवेशद्वार निर्माण गरिनेछ । 

मेलाको २ लाखभन्दा बढी दर्शकले प्रत्यक्ष अवलोकन गर्ने अनुमान आयोजकको छ । २ करोड ५० लाख रूपैयाँ खर्च लाग्ने अनुमान गरिएको एक्स्पोबाट २५ देखि ३० करोड रुपैयाँसम्मको कारोबार हुने अपेक्षा छ । आयोजकले संघीय सरकार, कोशी प्रदेश सरकार, विराटनगर महानगरपालिका र विभिन्न निजी तथा व्यवसायिक संघसंस्थाको सहकार्यमा आयोजना हुन लागेको समेत पत्रकार सम्मेलनमा जानकारी गराइयो । 
 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार