'नेपाल युवा उद्यमी मञ्च गल्फ प्रतियोगिता २०२६' : नेतृत्व र नेटवर्किङको राष्ट्रिय सङ्गम धरानमा

आइतबार, २५ माघ २०८२

धरान । नेपाल युवा उद्यमी मञ्च  सुनसरी च्याप्टरले धरान गल्फ क्लबमा 'नेपाल युवा उद्यमी मञ्च गल्फ प्रतियोगिता २०२६' आयोजना गर्ने भएको छ।

 फेब्रुअरी २८, २०२६ मा हुने एक दिने राष्ट्रिय स्तरको यस प्रतिष्ठित गल्फ प्रतियोगितामा नेपालका विभिन्न शहरबाट उत्कृष्ट खेलाडीहरू सहभागी हुनेछन् भने भारतबाट समेत खेलाडीहरूको उपस्थिति रहने अपेक्षा गरिएको छ।

खेल भावना, सौहार्दता तथा व्यावसायिक नेटवर्किङलाई एउटै मञ्चमा जोड्ने लक्ष्यसहित प्रतियोगिता आयोजना गर्न लागिएको हो। उद्यमी, व्यवसायी, पेशाकर्मी तथा गल्फ प्रेमीहरूबिच सहकार्य र सम्बन्ध विस्तार गर्ने अवसरका रूपमा कार्यक्रमलाई लिइएको आयोजकले जनाएको छ।

प्रतियोगितामार्फत पूर्वी नेपालमा गल्फ खेलको प्रवर्द्धन गर्ने, धरानका जुनियर गल्फ खेलाडीहरूको विकासमा सहयोग पुर्‍याउने, उद्यमी तथा व्यवसायीहरूबिच उच्चस्तरीय नेटवर्किङको अवसर सिर्जना गर्ने तथा नेतृत्व विकास र सहकार्यको वातावरण सुदृढ पार्ने उद्देश्य राखिएको छ।

प्रतियोगिताबाट सङ्कलित सहयोगको एक अंश धरानका प्रतिभाशाली जुनियर गल्फ खेलाडीहरूको तालिम, उपकरण तथा आवश्यक स्रोतसाधनमा खर्च गरिने जनाइएको छ। यसले स्थानीय युवा खेलाडीहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्षम बनाउने विश्वास गरिएको छ।

नेपाल युवा उद्यमी मञ्च  सुनसरी च्याप्टरले यस प्रतियोगिताले धरानलाई उच्चस्तरीय खेलकुद तथा व्यावसायिक नेटवर्किङ कार्यक्रमको केन्द्रका रूपमा स्थापित गर्न योगदान पुर्‍याउने अपेक्षा व्यक्त गरेको छ। 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार