डिशहोमले सार्वजनिक गर्यो ‘खुशी’ दुईतर्फी भोइस–एआई सेवा

सोमबार, २२ मंसिर २०८२

काठमाडौं: डिश मिडिया नेटवर्क लिमिटेड (डिशहोम) ले नेपालमै पहिलोपटक दुईतर्फी संवाद गर्न सक्ने नेपाली भाषामा आधारित भोइस–एआई सेवा ‘खुशी’ सार्वजनिक गरेको छ।

डिशहोमले पछिल्ला वर्षहरूमा प्रविधि–आधारित नवप्रवर्तनका प्रयास गर्दै आएको छ। केही समयअघि कम्पनीले भर्चुअल प्रिभिलेज कार्डमार्फत २०० भन्दा बढी होटल, रेस्टुरेन्ट, रिसोर्ट, स्वास्थ्य सेवा तथा इलेक्ट्रोनिक्स व्यवसायमा २५ प्रतिशतसम्म छुट प्रदान गर्ने सुविधा उपलब्ध गराएको थियो। त्यस्तै, डिशहोम गो ओटीटी प्लेटफर्ममार्फत नेपाल प्रिमियर लिग (एनपीएल) २०२५ को प्रत्यक्ष प्रसारण गर्दै उद्घाटन खेलमै दुई लाखभन्दा बढी दर्शक एकैपटक हेर्न सक्ने गरी नयाँ सफलताको रेकर्ड कायम गरेको थियो।

यस्तै नवप्रवर्तनको निरन्तरतामा डिशहोमले अब नेपाली भाषामा मानवीय–जस्तै आवाजमा ग्राहकसँग प्रत्यक्ष कुरा गर्नसक्ने एआई सेवा ‘खुशी’ सार्वजनिक गरेको हो। कम्पनीका अनुसार ‘खुशी’ले सेवा निष्क्रिय भएका ग्राहकसँग सम्पर्क गरी पुनःनवीकरणमा सहयोग गर्ने, अफरहरू प्रस्तुत गर्ने, गुनासो तथा सुझाव संकलन गर्ने तथा कुराकानीकै क्रममा ग्राहकको भावनात्मक प्रतिक्रिया विश्लेषण गरी प्रतिवेदन तयार गर्ने क्षमता राख्छ।

नेटवर्कमा प्राविधिक समस्या वा सेवा अवरुद्ध हुने अवस्थाहरूमा ‘खुशी’ डिशहोमको केन्द्रीय प्रणालीसँग एकीकृत भई ग्राहकले कल गर्दा अवरोधको कारण, अनुमानित समाधान समय तथा प्रगति विवरण तुरुन्त प्रदान गर्न सक्षम हुनेछ।

डिशहोमले आगामी चरणमा ‘खुशी’लाई ग्राहक पहिचान प्रमाणीकरण, सही विवरण अद्यावधिक, जडान तथा मर्मतसम्बन्धी समय समन्वय जस्ता कार्यमा पनि प्रयोग गर्ने योजना बनाएको छ। साथै, अहिले फेसबुक मेसेंजर र वेबच्याटमा प्रयोग भइरहेको च्याटबोटसँग ‘खुशी’लाई एकीकृत गरी भविष्यमा व्हाट्सएप र भाइबरमा समेत विस्तार गरिने कम्पनीले जनाएको छ।

‘खुशी’ को भाषिक क्षमता र कार्यक्षमता अझ विस्तार गर्न डिशहोमले अन्तर्राष्ट्रिय एआई अनुसन्धान तथा विकास संस्थासँग सहकार्य गर्दै दीर्घकालीन परियोजना अघि बढाइरहेको छ। कम्पनीका प्रवक्ताका अनुसार, ‘खुशी’ ले नेपालमा एआई प्रविधिको व्यावसायिक प्रयोगलाई नयाँ स्तरमा पुर्‍याउँदै ग्राहक सेवा अझ डिजिटल, छरितो र प्रभावकारी बनाउनेछ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार