काठमाडौँ : बितेका सात वर्षमा सिंहदरबारमा ६ जना गृहमन्त्री फेरिए । त्यत्तिनै सङ्ख्यामा प्रहरी प्रमुख र अनुसन्धान अधिकारी पनि परे–हेरफेर भए । तर प्रहरी अझै पनि कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ की १३ वर्षीया निर्मला पन्तको बलात्कार र हत्याको बहुचर्चित प्रकरण सुल्झाउन सकेको छैन ।
यो घटना २०७५ साउन १० गतेको हो । बिहान ११ बजे साथीको घर होमवर्क गर्न भन्दै निस्केकी निर्मला फेरि घर फर्किइनन् । साँझसम्म पनि छोरी घर नआएपछि परिवारले सोही राति नै प्रहरीलाई खबर गर्यो । तर प्रहरीले तत्काल खोजीमा अपेक्षित गम्भीरता देखाएन । भोलिपल्ट साउन ११ गते बिहान साढे ८ बजेतिर उनी उखुबारीमा मृत अवस्थामा फेला परिन् । पोस्टमार्टम रिपोर्टले निर्मलामाथि बलात्कार गरी घाँटी थिचेर हत्या गरिएको पुष्टि गरिसकेको छ ।
घटनाको सात वर्ष बितिसक्दा पनि विपक्षीको मुख्य एजेन्डा र सत्तापक्षको आश्वासनकै भरमा समय बित्यो । उच्च तहका ६ वटा छानबिन समिति गठन भए, तर कुनै पनि समितिले अनुसन्धानलाई निष्कर्षमा पुर्याउन सकेन ।
उल्टै अनुसन्धानमा लापरबाही गरेको भन्दै पाँच जना प्रहरी अधिकारी कारबाहीमा परे । एसपी विश्वराज खड्का, इन्स्पेक्टर कमल थापा, डिएसपी कोइरीसहित अन्य अधिकारी स्थानान्तरण र निलम्बनमा परे । प्रहरीले जति नै गम्भीर रूपमा अनुसन्धान गरेको दाबी गरे पनि अहिलेसम्म वास्तविक हत्यारा पहिचान हुन सकेको छैन ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को रिपोर्टअनुसार पन्त हत्या–बलात्कार प्रकरणमा हालसम्म १ सय २४ जनाको डिएनए परीक्षण र ७ सय ५५ जनाको बयान तथा सोधपुछ भइसकेको छ । तर वास्तविक अपराधी पहिचान हुन सकेको छैन, जसले नेपाल प्रहरीको अपराध अनुसन्धान क्षमतामाथि नै गम्भीर प्रश्न उठाएको छ ।
निर्मलालाई न्याय दिलाउन कञ्चनपुरदेखि काठमाडौँसम्म पटक–पटक आन्दोलन भए । आन्दोलनका क्रममा प्रहरीको गोली लागेर दुई जनाको ज्यानसम्म गयो । अधिकारकर्मी र दबाब समूहहरू समयसँगै थाक्दै गए, तर परिवारले अहिलेसम्म न्यायको आशा मारेको छैन ।
हत्यापछि भदौ महिनामा गृह मन्त्रालयका हरिप्रसाद मैनालीको नेतृत्वमा उच्चस्तरीय प्रारम्भिक छानबिन समिति बन्यो । त्यसपछि असोज १६ गते तत्कालीन डिआइजी धिरु बस्नेतको नेतृत्वमा नौ सदस्यीय समिति गठन गरियो । मङ्सिर ३० गते एसएसपी उत्तम सुवेदीको नेतृत्वमा पाँच सदस्यीय समिति बनाइयो । माघमा राष्ट्रिय मानवअधिकार आयोगका नरेन्द्र पाठकको नेतृत्वमा विशेषज्ञ समिति बन्यो, जसले फरेन्सिक, डिएनए परीक्षण र मानवअधिकार सम्बन्धी दृष्टिकोणबाट अनुसन्धान मूल्याङ्कन गर्ने जिम्मा पायो ।
२०७६ माघमा तत्कालीन डिआइजी सुरज केसीको नेतृत्वमा पुनरावलोकन समिति गठन गरियो, जसले डिआइजी बस्नेत नेतृत्वको समितिको काम पुनः अध्ययन गर्यो । २०७९ माघ ३० गते सिआइबीले डिआइजी दुर्गा सिंहको नेतृत्वमा अर्को नयाँ छानबिन समिति बनायो । अधिकांश समितिले अनुसन्धानमा देखिएका त्रुटि र लापरबाही औँल्याए, तर वास्तविक अपराधी पहिचान र दोषी ठहर गर्न भने कसैले सकेन ।
सिआइबीका एक अधिकारी भन्छन्, ‘एक चरणमा पुगिसकेको अनुसन्धान विभिन्न कारणले गिजोलियो । जहाँ पुगेर अनुसन्धान रोकिएको छ, त्यही निष्कर्षको वरिपरि सबै अड्किएका छन्, अन्तिम पुष्टि गर्ने आँट हुन सकेको छैन ।’
२०७९ सालमै बनेको समितिको निष्कर्ष अहिलेसम्म सार्वजनिक छैन । २०८२ साउन १८ मा तत्कालीन गृहमन्त्री रमेश लेखकले सिआइबीलाई नयाँ कोणबाट अनुसन्धान हेरी टुङ्गोमा पुर्याउन निर्देशन दिएका थिए । तर त्यसपछि जेनजी आन्दोलन भयो र प्रकरणमा बाँकी प्रगति देखिँदैन ।
निर्मला हत्या भएदेखि अहिलेसम्म गृहमन्त्रीका रूपमा रामबहादुर थापा ‘बादल’, बालकृष्ण खाँण, रवि लामिछाने, नारायणकाजी श्रेष्ठ, पुनः रवि लामिछाने र रमेश लेखक बसेका छन् । नेपाल प्रहरीमा पनि सर्वेन्द्र खनालदेखि लिएर दानबहादुर कार्कीसम्म ७ जना प्रहरी महानिरीक्षक बदलिसकेका छन् । तर उच्च अधिकारीको फेरबदल र प्रतिबद्धताका भाषणहरूले यो घटना समाधान गर्न सकेका छैनन् ।
उच्च प्रहरी अधिकारीहरू घटनास्थल बिगारिएको, प्रहरी आफैँले स्थल सुरक्षित नगरी शव उठाएको, प्रमाण सुरक्षित राख्न आवश्यक प्लास्टिक कभर वा ग्लोब प्रयोग नगरेकोजस्ता गम्भीर लापरबाही भएको बताउँछन् । बलात्कार–हत्या प्रकरणमा सङ्कलन हुनुपर्ने कपाल, वीर्य, कपडा जस्ता प्रमाण समयमै सही तरिकाले नउठाउँदा अनुसन्धानमा ठुलो क्षति भएको उनीहरूको भनाइ छ ।
स्थानीय dilip सिंह विष्टलाई प्रारम्भिक अभियुक्तका रूपमा समातेर सिआइबी र स्थानीय प्रहरी दुवैले अनुसन्धान टुङ्ग्याउने तयारी गरेका थिए । तर डिएनए नमुना नमिलेपछि उनी रिहा भए ।
अनुसन्धान कति गिजोलिएको थियो भन्ने उदाहरण नै तत्कालीन कञ्चनपुर प्रहरी प्रमुख दिल्लीराज विष्ट र उनको छोराको समेत डिएनए परीक्षण गरिएको घटना हो । त्यतिबेलादेखि प्रहरीले ‘नयाँ पहल गरिरहेका छौँ’, ‘फरेन्सिक परीक्षण पुनः हुँदै छ’, ‘सिआइबीले नयाँ कोणबाट हेर्दै छ’ जस्ता कथन दोहोर्याइरहे पनि अनुसन्धान अझै टुङ्गोमा पुगेको छैन ।
सिआइबीका सूचना अधिकारी एसपी निरञ्जनदत्त भट्ट भन्छन्, ‘अन्तिम नतिजा नआएसम्म अनुसन्धान जारी रहन्छ । हामी अहिले पनि अनुसन्धानमै छौँ ।’ उनका अनुसार धेरै व्यक्तिको डिएनए परीक्षण र सोधपुछ भए पनि वास्तविक हत्यारा अझै यकिन हुन सकेको छैन ।
प्रतिक्रिया